काठमाण्डौ । बंगलादेश नेपालबाट विद्युत निर्यात गर्न सहमत भएको छ । 
 

बंगलादेशको ढाकामा सम्पन्न नेपाल र बंगलादेशको ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेश नेपालमा उत्पादित विद्युत निर्यात गर्न सहमत भएको हो । बैठकमा भारतीय संरचना प्रयोग गरी नेपालबाट विद्युत निर्यात गर्न बंगलादेशले सहमति जनाएको छ । 
 

ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले भारतीय कम्पनी जीएमआरले बनाउने भनेको माथिल्लो कर्णाली विद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् किन्न सैद्धान्तिक सहमति गरेको छ । आयोजनाले ५०० मेगावाट भारतीय विद्युत् व्यापार निगमलाई दिने र सोही निगमले बंगलादेशलाई बिक्री गर्नेमा सैद्धान्तिक सहमति जुटेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ । 
 

बंगलादेशले नेपालको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने विषयमा पनि सहमति बनेको बताइएको छ। बंगलादेशले नेपालबाट सन् २०४० सम्ममा नौ हजार मेगावाट विद्युत आयात गर्ने आफ्नो दस्तावेजमा उल्लेख गरेको छ । 
 

बैठकमा ऊर्जा मन्त्रालयले गत वैशाखमा जारी गरेको वर्तमान अवस्था र मार्गचित्र समावेश गरिएको श्वेतपत्र ‘एक प्रदेश एक मेगा प्रोजेक्ट’ नारा दिएर दुई दर्जन जलविद्युत् आयोजना निर्माणको प्रस्ताव गरेको छ । यसका लागि दुई देशका अधिकारीहरु सम्मिलित संयन्त्र गठन गर्ने र तीन महिनाभित्र बंगलादेशले यी आयोजनामध्ये लगानी गर्ने आयोजना छनोट गरी प्रतिवेदन बुझाउने सहमति भएको छ । 
 

बैठकमा नेपाल र बंगलादेशबीच भारतको सिलिगुडी करिडोरहुँदै डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल भएको छ । जुन सबैभन्दा छोटो २२ किलोमिटरको दूरीमा छ । तर नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि भारतको सहमति आवश्यक हुन्छ ।

भारतले सन् २०१८ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नयाँ निर्देशिकामा राखेको छिमेकी मुलुकसँगको विद्युत् व्यापारमा उदार नीतिले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको सम्भावना पनि बढेको जानकारहरु बताउँछन् ।