काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मर्जर जान नसकिने जवाफ राष्ट्रबैंकलाई पठाएको छ । 

केन्द्रीय बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता मागेकोमा यो बैंकले मर्जरमा जान नसकिने आफ्नो रणनीतिको विषयमा प्रष्ट पार्दै पत्र पठाएको हो । 

नेपाल राष्ट्रबैंकले लिने महत्वपूर्ण नीतिप्रति यो बैंकले विगत लामो समयदेखि असहमति जनाउँदै आएको छ । यसअघि चुक्तापूँजी ४ गुणासम्म वृद्धिको नीति आउँदा समेत स्ट्याण्डर्ड चार्टर्ड सो नीतिको खुलेरै आलोचना गर्ने गरेको थियो । तर, चौतर्फी दवाबपछि अन्तिम अवस्थामा बम्पर बोनस सेयर घोषणा गरी यो बैंकले पूँजी बढाएर ८ अर्ब पुर्याएको थियो । 

विगतमा झै यसपटकको बिग मर्जरको इस्यूमा समेत यो बैंकले प्रारम्भमै असहमति जनाएको हो । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मर्जरमा जान नसकिने विषय प्रष्ट पारेकै दिन नेपाल बंगलादेश बैंकले भने मर्जरका लागि प्रतिबद्धता पत्र पठाएको छ । तर, यो बैंकले बंगलादेशी साझेदारहरुसँग छलफल गरेर मात्र ठोस निश्कर्ष पुग्न सकिने बाध्यात्मक अवस्था समेत केन्द्रीय बैंक समक्ष दर्शाएको छ । 

उता, मौद्रिक नीतिसम्म पर्खिएर बस्ने रणनीतिमा रहेको सिद्धार्थ बैंकले भने मर्जरका लागि प्रतिबद्धता जनाएको छ । बुधबार सो बैंकले प्रतिबद्धता पठाएको नेपाल राष्ट्रबैंकले जनाएको छ । 

बुधबारसम्म मर्जरका लागि लिखित प्रतिबद्धता पठाउने वाणिज्य बैंकको संख्या २० पुगेको छ । अझै ८ बैंकले मर्जरका लागि प्रतिबद्धता पठाएका छैनन् । 

केन्द्रीय बैंकमा प्रतिबद्धता नपठाए पनि प्राइम बैंकले कैलाश विकास बैंक लगायत तीन संस्थासँग प्राप्तिको सम्झौता गरिसकेको छ भने एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ ।