काठमाण्डौ । अमेरिका र चीनबीच फेरि व्यापार वार्ता पुनः सुरु हुने भएको छ ।

अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबारदेखि पुनः व्यापार वार्ता गर्न पहल सुरु भएको हो । दुवै मुलुकबीच व्यापारयुद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल सुरु भएको छ । 

दुई महिनाअघि अमेरिकाले चीनमाथि थप सामग्रीमा कर वृद्धि गर्ने घोषणा गरेसँगै अमेरिका र चीनबीच भइरहेको व्यापार वार्ता अवरुद्ध बन्न पुगेको थियो ।

अमेरिकाको कर वृद्धिको निर्णयको विरोधमा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा करवृद्धि गरेको थियो । दुवै देशले एक–अर्का मुलुकमा उत्पादित सामान करिब २५ प्रतिशतसम्म करवृद्धि गरेका छन् ।

गत जुनको अन्तिम साता जी–२० सम्मेलनमा जापानको ओसाकामा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अवरुद्ध व्यापार वार्ता पुनः थाल्ने सहमति जनाएका थिए । त्यही सहमतिको कार्यान्वयनका लागि अमेरिकी र चिनियाँ उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबार टेलिफोन वार्ता गरी व्यापार वार्ता पुनः सुरु गर्ने विषयमा कुराकानी भएको हो । 

दुवै देशका प्रतिनिधिबीच छिटै व्यापार वार्ता हुने बताइएको छ । व्यापार वार्ता निष्कर्षमा पुग्नेमा दुवै देशका अधिकारीहरु ढुक्क छन् । –एजेन्सी