काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको रु. ३ अर्बको ऋणपत्र (डिबेन्चर)को सार्वजनिक निष्काशन साउन ४ गतेबाट हुने भएको छ। 

बैंकले प्रतिऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३० लाख युनिटको बिक्री खुल्ला गर्ने भएको हो । 

कुल निश्कासित ऋणपत्रमध्ये अठार लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

सर्वसाधारणका लागि जारी हुने १२ लाख युनिटमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८३' निश्कासन गर्न लागेको हो । 

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र खरीदका लागि छिटोमा साउन ९ गते र ढिलामा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई एक सम्झौता गरी अनुबन्ध गरिसकेको छ । 

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानी गर्दा वार्षिक १०.२५% दरले ब्याज पाइनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा दिइने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । 

यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।