काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने हैसियत बनाएको छ । 

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक, माछापुच्छ्रेले समीक्षा अवधिमा १ अर्ब ३२ करोड वितरणयोग्य मुनाफा(फ्री प्रफिट) आर्जन गरेको हो । 

बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्छ । 
समीक्षा अवधिमा बैंकले १ अर्ब ७० करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २४ करोडमा सीमित थियो । 

यो अवधिमा बैंकले २ अर्ब ४२ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ८० करोड रुपैयाँ मात्र थियो ।

अघिल्लो वर्ष २ अर्ब ७३ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर ३ अर्ब ५३ करोडको उचाई चुमाएको बैंकले १० अर्ब १६ करोड ब्याजबाट मात्र आम्दानी गरेको छ । यो अवधिमा ब्याज खर्च समेत ६ अर्ब ६२ करोड भएका कारण खूद ब्याज आम्दानी ३ अर्ब ५३ करोड रहेको हो । 

समीक्षा अवधिमा बैंकले ८५ अर्ब १९ करोड निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७१ अर्ब १४ करोड निक्षेप संकलन गरी ६२ अर्ब ४१ करोड बढी कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा बैंकको रिजर्बमा भने सामान्य संकुचन आएको छ । अघिल्लो वर्ष १ अर्ब ४६ करोड रहेको रिजर्ब घटेर यो वर्ष १ अर्ब ४५ करोडमा सीमित बन्न पुगेको हो । 

कम्पनीको रिटेन अर्निङ ८० करोड ७७ लाखबाट बढेर १ अर्ब ७० करोडको उचाईमा पुगेको छ । यसरी कम्पनीले रिटेन अर्निङतर्फ १११.१७ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.३७ प्रतिशत मात्र छ । अघिल्लो वर्ष यस्तो अनुपात ०.४४ प्रतिशत रहेको थियो । 

अघिल्लो वर्ष १८.८१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर यो वर्ष २२.९८ रुपैयाँको उचाईमा पुगेको छ भने क्यापिटल एडेक्वेसी रेसियो १२.८८ प्रतिशत, कस्ट अफ फण्ड ७.८८ प्रतिशत, सीडी रेसियो ७६.९८ प्रतिशत, बेस रेट १०.३७ प्रतिशत कायम भएको छ । अघिल्लो. वर्ष क्यापिटल एडेक्वेसी रेसियो १५.३६ प्रतिशत थियो । राष्ट्रबैंकले तोकेको ११ प्रतिशतको सीमा नजिक यस्तो अनुपात आएको देखिन्छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.४८ गुणा रहेको छ ।