काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले सिडिएससीले सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस गरेको भन्दै त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएको छ । 

समूहका अध्यक्ष हरि ढकालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी साउन १ देखि लागू हुने गरी पूँजीगत लाभकर गणना विधिको सम्बन्धमा प्रयोग गर्न खोजिएको विधि र प्रक्रिया झञ्झटिलो, अवैज्ञानिक र त्रुटिपूर्ण रहेको भन्दै यो तत्काल फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएको हो । 

समूहले आफूहरुले विगतमा गरेको आन्दोलनबाट सेयर बजारमा प्राप्त उपलब्धिहरुमाथि पनि निरन्तर प्रहार गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ । 

समूहले पूँजीगत लाभकर गणनाको अव्यवहारिक विधि स्थगित नभएसम्मका लागि सिडिएससीका अधिकारी र सम्बद्ध निकायका प्रतिनिधिहरुको सशक्त प्रतिकार र प्रतिवाद गर्न लगानीकर्ताहरुलाई आह्वान समेत गरेको छ ।