-भक्तराज रसाइली
काठमाण्डौ । भारित औसत लागत विधि गणना झञ्झटिलो र अव्यवहारिक भएको भन्दै लगानीकर्ता संघसंगठनका नेताहरुको संयुक्त लिखित आग्रहलाई समेत सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धोती लगाइदिएको छ ।

निराशामा आशाको दीप जलाउने पात्र नै डिजिटाइज्ड बजारको भिलेनका रुपमा सिडिएससीका सीइओ गुप्ता लगानीकर्तामाझ परिचित हुँदै गएका छन् । उनले गरेका केही राम्रा कामका कारण प्राथमिक बजारले क्रान्तिकारी छलाङ मारेकै हो, तर त्यही सफलताका कारण गुप्तामा पलाएको अहम र घमण्डका कारण पहिलो कार्यकालको अन्तिम अवस्थामा उनी विवादास्पद बन्न पुगेका छन् । 

लगानीकर्ता संघ र ब्रोकरहरुबीच आइतबार बिहान बैठकमा लगानीकर्ताहरुले कारोबार बन्द र राफसाफमा सहयोग गरिदिन आग्रह गर्दा विकल्प नभएको भन्दै ब्रोकरहरुले आफ्नो बाध्यता बताएका थिए । 

त्यसपछि लगानीकर्ताका नेताहरुले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै राफसाफ रोकिदिन सिडिएससीका सीइओ देवप्रकास गुप्तालाई भेटेरै सोही दिन ज्ञापनपत्र समेत बुझाए । आइतबार गत साउन १ गते बुधबारको राफसाफ हुने दिन थियो, त्यो दिन त रोकियो । त्यसको भोलिपल्ट बित्न नपाउँदै सिडिएससीले साउन १ र २ गतेको राफसाफ हिजो सोमबार गर्यो, जुन अहिले निरन्तर छ ।

सिडिएससीका सीइओ गुप्ताले आइतबार लगानीकर्ताका नेताहरुलाई भेट्दा गत असार ३१ गतेलाई कट अफ तोकेर भारित औसत लागत गणना गरिने, जसमा कुनै कानूनी मुद्धा परे आफू खेप्न पछि नपर्ने भन्दै आश्वसन समेत दिएका थिए । 

हिजो बिजशालाले असार २७ गते सिडिएससीका गुप्ताले अर्थमन्त्रालयमा भएको सरकोरवालाहरुबीच भएको सर्वपक्षीय बैठकमा हालको गणना विधिलाई सहमति दिंदै हस्ताक्षर समेत गरेका विषय खुलासा गरिदियो । 

बिजशालाकोे उच्च स्रोतका अनुसार सिडिएससीका सीइओ गुप्ता दोस्रो कार्यकालका लागि अर्थमन्त्रालसँग निकटता र लबिङमा भएकै कारणले नेपाल सरकार अर्थमन्त्रालयको निर्णय उपर कुनै अब्जेक्सन गर्न चाहँदैनन् । यसरी नारायणझै दोहोरो चरित्र निर्वाह गरिरहेका गुप्ताको कार्यकाल सकिनै लाग्दा बजार सुधारको एजेण्डा छाडेर माथिल्लो निकाय र अधिकारीलाई रिझाउन व्यस्त रहेका स्रोत दाबी गर्छ । कार्यकाल लम्ब्याउन माथिल्ला निकायका प्रभूहरुलाई खुशी बनाउन लाग्दा सिडिएससीकै आम्दानीको स्रोत वा स्थायी प्रभू मानिने लगानीकर्तालाई भने एकपछि अर्को मर्कामा पार्ने विवादास्पद र शंकास्पद भूमिका निर्वाह गरिरहेका आरोप लाग्न थालेको छ । 

कतिपय अवस्थामा माथिल्लो निकायको निर्देशन लुरुलुरु मान्ने सिडिएससीको बाध्यता पनि हुन सक्दछ, तर माथिल्लो निकायमा गएर बजारको अवस्था र लगानीकर्ताको मनोविज्ञान वा मागको विषयमा सिडिएससीले सही रिपोर्टिङ गर्नुपथ्र्यो, यही काममा गुप्ता चुकेका देखिन्छ । 

यस्तो अन्यौलपूर्ण अवस्थामा लगानीकर्ता संघसंगठनका नेताहरु हात बाँधेर बसिदिदा संघसंगठनकै अस्तित्वमाथि गम्भीर आरोपहरु आइरहेका छन् । संघसंगठनका नेताहरुको  प्रभावकारी नभइदिंदा सिडिएससीले सामूहिक अनुरोधलाई नजरअन्दाज गर्दा विचारमन्थन गर्नुपर्ने हो कि ।

लगानीकर्तामा पनि फूट !
गत आइतबार लगानीकर्ताका संघसंगठनमा निकै फाटोको अवस्था पनि देखियो । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल एक्लै गएर राजश्व सचिव लालशंकर घिमिरेलाई भेटेरै अवस्थाबारे जानकारी दिएपछि तत्कालै राजश्व सचिवले तीनै निकायका प्रमुखहरुलाई लगानीकर्ताका माग जायज हुन् कि हैनन् भनेर लिखित जवाफ पेश गर्न आदेश समेत दिए । सोही दिन दिउँसो करिब २ बजेतिर अन्य ४ संघका नेताहरुलाई पनि सोही जवाफ दिए । यसरी अर्थमन्त्रालयले समेत लगानीकर्ता संघसंगठनका बीच भएको दरारमा खेल्ने काम गरिरहेको देखिन्छ । लगानीकर्ता संघसंगठनको एउटै मुद्धामा समेत एकीकृत स्वर हुन नसक्दा समेत बजार विरोधीहरुले खेल्ने मौका पाएका प्रष्टै देखिन्छ । 

लगानीकर्ता संघसंगठनका कतिपय नेताहरुले आफ्नो पदको गुड्डी हाक्दै बैंकका सीइओहरुलाई भित्रि सूचना चुहाउन दुष्प्रयास गर्ने गरेको, बैंकहरुसँग मार्जिन लोनमा बार्गेनिङ गर्ने गरेका घटना समेत बेला बेला बाहिर आइरहन्छन् । कतिपय नेताहरुले नियामकसँग निकटता बढाएर भित्रि सूचना तथा जानकारी लिने शर्तमा समेत सम्झौता गर्ने गरेका छन् । कतिपय लगानीकर्ता संगठनका उच्च नेताहरु ५–६ वटा ब्रोकरकहाँ गएर संघको पद भजाउँदै ३०–४० लाखको सेयर उधारोमा खरिद गरेको र भुक्तानी समेत समयमा नदिने गरेका पीडा समेत ब्रोकरहरु व्यक्त गर्छन् ।

लगानीकर्ता कतिपय नेताहरुकै कमजोर धरातल र यस्तै विवादास्पद छवि बुझेको अर्थमन्त्रालयले समेत यो पटक लगानीकर्ताका जायज मागलाई फनफनी घुमाउने रणनीतिमा बसेको देखिन्छ । 

अर्थकै सल्लाहमा लामो विदा
यसैबीच, लगानीकर्ताका नेतासँग चिप्ला र मिठा कुरा गरेका राजश्व सचिव लालशंकर घिमिरेकै सल्लाहमा सिडिएससीका सीइओ देवप्रकाश गुप्ता लगानीकर्ताको दवाबलाई छल्न लामो विदामा बसेका छन् । 

लगानीकर्ताहरु पूँजीगत लाभकर गणनाको नयाँ विधिका कारण अन्यौलग्रस्त बनिरहेको र बजारमा आशाको दीप जलाउने पात्रको रुपमा परिचित गुप्ताबाट समस्या समाधानका लागि केही पहल हुने आशा गरेर बसिरहेका बेला राजश्व सचिवकै सुझाव अनुसार गुप्ता मंगलबारदेखि एक हप्ते विदामा बसेका छन् । 

उनी मात्र होइन, यही बेला आफ्नो कार्यकाल सकिने अवस्थामा रहेका धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की समेत विदामा बसेका छन्। 

एकपछि अर्को निकायका प्रमुख नै विदामा बस्नुले समेत यो विषयलाई विभिन्न बाहानामा अल्झाएर राख्ने, लगानीकर्तालाई यो वा त्यो बाहानामा इन्गेज गराई पूँजीगत लाभकरको नयाँ गणना विधि लागू गराएरै छाड्ने सरकारी नियत प्रष्टिन्छ ।