काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा हिलो छ्यापाछ्यापको नयाँ अध्याय सुरु भएको छ। 

विधान संसोधनको विषयलाई लिएर महासंघभित्र नयाँ टकराव र हानाहानको क्रम सुरु भएको हो । 

महासंघमा हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानलाई संसोधन गर्न खोजिएसँगै तीव्र ध्रूवीकरण सुरु भएको छ । 

विधान संसोधनमा भइरहेको खेललाई रोक्न सकेमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । तर, उनलाई रोकेर अरुलाई नै महासंघको अध्यक्षको रुपमा ल्याउन चाहनेहरुको दबदबाले पछिल्लो दिनको अवस्था केही असहज बनाइदिएको छ । 

उद्योगी व्यवसायीको छाता संगठन महासंघमा यतिसम्म तल्लो स्तरको राजनीति हाबी भएको छ कि हुँदै नभएको निर्णय वा हुँदै नभएको घटनालाई समेत उद्योगीहरुले आफूहरुले विज्ञापन दिएका मिडियाहरु प्रयोग गरी सस्तो प्रचारबाजीमा उत्रिएका छन् ।

प्रष्ट रुपमा महासंघभित्र दुई ध्रुव देखिएको छ । यी दुई ध्रुवमा रहेकाहरु विधान संसोधन वा यसमा भइरहेको खेल वा यस्तै यस्तै बाहानामा एक अर्कालाई सिध्याउन र आफ्नो स्वार्थ पूर्ति गर्न लागिपरेका पछिल्ला केही दिनको घटनाक्रमले देखाएको छ । 

महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकमा विधान संसोधनकै लागि विशेष साधारणसभा आह्वान गर्ने विषयमा विवाद भएको थियो । 

बिधान संसोधनका लागि साधारणसभाले नै पूर्व अध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा एक समिति बनाएको छ । सो समितिले कार्यसमिति बैठकमा विधान संसोधनका लागि विशेष साधारणसभाको मिति तोक्नुपर्ने प्रस्ताव लगेको थियो । सो प्रस्तावको विषयमा बैठकका सहभागीहरुबीच मत बाझिएको थियो । 

विधान संसोधनका लागि ढकालले गरेको प्रस्तावलाई पूर्वअध्यक्ष पशुपति मुरारकाले कडा प्रतिवाद गरेका थिए । उनी महासंघका पूर्वअध्यक्ष तथा शेखर गोल्छालाई अध्यक्ष बनाएरै छाड्ने अभियानका नेतृत्वकर्ता समेत हुन् । 

सो दिनको कार्यसमिति बैठकमा भएको विवादलाई सुनियोजित रुपमा बढी नै प्रचार गरिएको थियो । केही मिडियालाई प्रयोग गरी पशुपति मुरारका समूहले विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालले आफूले भनेजस्तो नभएपछि राजीनामा नै दिएको खबर बाहिर ल्याउने काम गर्यो ।

तर, यथार्थ त्यो भन्दा भिन्न थियो । ढकालले सो दिन राजीनामा दिएका थिएनन्, बरु कार्यसमितिले विवादका बीच कात्तिक तेश्रो सातापछि जुनसुकै दिन विशेष साधारणसभा तोक्ने निर्णय गरेको थियो । महासंघले कात्तिक २९ गते विशेष साधारणसभाको मिति समेत तोकिसकेको छ । 

विशेष साधारणसभाको मिति तोकिइनुको अर्थ हो चण्डीराज ढकाल नेतृत्वको अधिकारप्राप्त विधान संसोधन समितिको प्रस्ताव आधिकारिक निकायमा पेश हुनु । उनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने अहिलेको विधान संसोधनको प्रस्ताव विशेष साधारणसभामा पेश गर्नेछन् । अध्यक्षको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार हुनुपर्ने गरी विधान संसोधन गर्न खोजिएको छ । 

यस्तै, हाल अध्यक्षको ३ वर्षे कार्यकाललाई घटाएर २ वर्षे बनाउने महत्वपूर्ण प्रस्ताव समेत पेश हुनेछ । 

चण्डी ढकाल भन्छन्–‘खेस्रालाई राजीनामा भनेर प्रचार गरियो’
साधारणसभाबाट बनेको विधान संसोधन समितिका संयोजक तथा महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले विधान संसोधनको विषयमा कार्यसमिति बैठकमा धेरै समय व्यतित भएपछि आफूले अध्यक्ष भवानी राणालाई एउटै विषयमा कति लामो छलफल गराएको ? भनेर खेस्रामा लेखेर मात्र दिएको र त्यसैलाई ‘राजीनामा दियो’ भनेर प्रचार गरिएको दाबी गरे । उनले बिजशालासँग भने–‘हामीले कार्यसमितिलाई विधान संसोधनको विषयमा भएका डेभलपमेन्टहरुलाई जानकारी गराउने मात्र हो । विशेष साधारणसभाबाटै हामीलाई म्याण्डेड आएकोले हामी आफ्नै हिसाबले प्रस्ताव लिएर साधारणसभामा जानसक्ने हैसियत राख्छौ ।’ 

उनले बुधबारको कार्यसमिति बैठकमा समेत आफ्नो प्रस्तावप्रति अधिकांश सदस्यहरुले ताली ठोकेरै सहमति जनाएका दाबी समेत गरे । तर, सो दिनको बैठकमा अध्यक्ष भवानी राणाले सबैलाई बोल्न दिएर समय लम्ब्याएको र गल्ती गरेकी उनको टिप्पणी छ । 

विधानमा भएको व्यवस्था अनुसार नै तीन महिनाअघि विशेष साधारणसभाको मिति तोकिएको र अब जिल्ला तथा नगर समितिहरुको रायसुझाव समेत संकलन गर्दै, विधान संसोधनका अजेण्डामाथि थप छलफल गरी अगाडि बढिने उनले जानकारी दिए ।

किन गरिँदैछ विधान संसोधन ? 
महासंघमा नेतृत्व हत्याउने र आफ्नो निकटवर्तीलाई अध्यक्ष बनाउने खेल पुरानै हो । हालकी अध्यक्ष भवानी राणा समेत चण्डीराज ढकालकै डिजाइनमा अध्यक्ष भएकी पात्र हुन् । 

ढकालकै नेतृत्वमा त्यसबेला समेत विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अन्तर्गत भवानी राणा अध्यक्ष बन्न सफल भएकी थिइन् ।

भवानीलाई अध्यक्ष बनाउनैका लागि ढकालले विधान संसोधन गरेपछि त्यसको विरोधमा बहुसंख्यक पूर्वअध्यक्षहरुले लिखित रुपमै असहमति जनाएका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाले महासंघलाई राम्रो नगर्ने भन्दै उनीहरुले सामूहिक विरोध जनाएसँगै त्यसपछिका महासंघका अधिकांश गतिविधिलाई उनीहरुले बहिस्कार नै गरेका थिए । 

त्यसबेला महासंघका पूर्वअध्यक्षहरुको असन्तुष्टि र सो समूहको नेतृत्व महासंघकै पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले गरेका थिए । उनले आफू अध्यक्ष बन्ने बाटो रोकिएसँगै महासंघसँग केही समय सम्बन्धबिच्छेद नै गरेका थिए । कर्णिकार र चण्डी ढकाल तथा भवानी राणाबीचको कटुता चरम उत्कर्षमा पुगेको थियो । 

पूर्वअध्यक्षहरुको समेत समर्थनमा महासंघका गलत अभ्यासविरुद्ध भाष्करराज राजकर्णिकार निरन्तर लड्दै आएका थिए । तर, महासंघमा चण्डीराज ढकालको एकछत्र हैकम कायम भएपछि महासंघमा गएर नेतृत्व गर्ने संभावना अन्त भएको देखी भाष्करराज राजकर्णिकार नेपाल चेम्बर अफ कमर्स तर्फ ढल्किएका थिए । त्यहाँ मानार्थ विशिष्ट उपाध्यक्षको रुपमा प्रवेश गरेका उनको नेतृत्वमा जिल्ला तथा गाउँनगरमा चेम्बरको नेटवर्क बिस्तार हुने ठानिएको थियो । तर, त्यही बेलामा महासंघको समीकरणमा एकाएक फेरबदल भयो र धेरैले सोच्दै नसोचेको समीकरण बन्ने संभावना बढ्यो । त्यो थियो भाष्कर र चण्डी ढकालबीचको पुनर्मिलन । यो पुनर्मिलनमा भवानी राणाले पनि साथ दिइन् । 

यसरी केही वर्ष एकअर्कालाई निषेध गर्दै हिँडेका चण्डीराज ढकाल र भाष्कर राजकर्णिकारले पुनः हात मिलाएसँगै महासंघमा पुनः विधान संसोधनको खेल सुरु भएको हो ।

उनीहरुलाई मिलाउने मुख्य कारण पनि विधान संसोधन नै रहेको स्रोत बताउँछ । किनभने पहिला विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गलत छ भन्ने मान्यता राख्ने भाष्करराज राजकर्णिकार अब विधान संसोधन भएर त्यो गलत व्यवस्थामा सुधार भएमा नीतिगत रुपमा समेत आफ्नो जित हुने निश्कर्षसहित नेतृत्वका लागि लालायित छन् । जिल्ला नगरमा राम्रो पकड रहेका ढकालको विधान संसोधनको प्रस्ताव विशेष साधारणसभाले पारित गरे यसको सबैभन्दा बढी लाभ र जस भाष्करलाई जानेछ । यसकारण समेत त्यो अवस्था बनेको खण्डमा आफ्नो मुद्धा स्थापित हुने र आफूले सहजै चुनाव जित्ने भाष्करको लेखाजोखा छ ।  

पुरानो मित्र भएको हिसाबले ढकाल र राजकर्णिकारको पुनर्मिलनलाई भवानी राणाले समेत साथ दिंदै गइन । अहिले एकाएक बनेको समीकरण वा ध्रुवीकरणको सुरुवात यहीबाट भएको हो । 

महासंघमा आशालाग्दो समीकरण बनेसँगै भाष्करराज राजकर्णिकारले चेम्बर अफ कमर्सतर्फको मोह छाडेका छन् भने भाष्करलाई अध्यक्ष बनाउने रणनीति अनुसार ढकाल समूहले  विधान संसोधनको विषयलाई अगाडि बढाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्षमा आफू लड्ने भाष्करले औपचारिक घोषणा गरिसकेका छैनन् । तर, उनी विधान संसोधनको विषयलाई नजिकबाट नियालिरहेका उनी निकट स्रोतहरुले जनाएका छन् । 

विधान संसोधन भई अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था भए भाष्करले औपचारिक रुपमै अध्यक्षको निर्वाचन लड्ने घोषणा गर्नेछन् । त्यसपछि व्यापारी व्यवसायीको नेतृत्वका लागि हुने दौडधूप अझ रोचक हुने अहिले नै अनुमान गर्न सकिन्छ । 

किन भाष्कर नै ?
उद्योग वाणिज्य महासंघको पछिल्लो नेतृत्वको कार्यशैलीप्रति महासंघकै जिल्ला तथा नगर संघहरुमा तीव्र असन्तुष्टि रहेको छ । 

भवानी राणालाई चण्डी ढकालले चलाइरहेका गम्भीर आरोप लागिरहेकै छ भने वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको एकाङ्की बानी र जिल्ला तथा नगरमा घुलमिल हुन नसक्ने तथा आफ्नै भोटरहरुलाई भाउ नदिने प्रवृतिबाट वाक्क बनेका महासंघका बहुसंख्यक सदस्यहरुले दमदार र ड्यासिङ नेतृत्व खोजिरहेका छन् । 

पूर्व अध्यक्षहरुको सोसाइटीमा समेत महासंघको नेतृत्व बलियो हुन नसकेको विषय पटक पटक उठ्ने गर्छ । महासंघको गरिमा जोगाउन, नीति निर्माताहरुसँग कतिपय जायज मुद्धाहरुमा बलियोसँग टेबल टक गर्नसक्ने नेतृत्व महासंघका सबै सदस्यहरुले खोजिरहेका छन् । यसको विकल्पको रुपमा भाष्करराज राजकर्णिकारलाई अगाडि सारिएको स्रोत दाबी गर्छ । 

‘भाष्करमा ड्यासिङ पावर र नेतृत्व क्षमता छ । उनको नेतृत्वमा महासंघले राम्रो गर्नसक्छ भन्ने हामीलाई विश्वास छ ।’ एक पूर्व अध्यक्षले भने–‘उनको विकल्पमा उनी जत्तिकै तगडा मान्छे देखिएन, त्यसकारण उनी नै अध्यक्षको रुपमा आउनुपर्छ भन्ने हाम्रो धारणा हो । कम्तीमा उनी कसैको स्ट्याम्पको रुपमा प्रयोग हुँदैनन् ।’ 

ती अध्यक्षका अनुसार भाष्कर महासंघबाट आउट हुँदा उनीसँगै धेरै प्रतिष्ठित र प्रभावशाली व्यक्ति निस्क्रिय बनेका र यसले महासंघको गरिमा तथा ओजमै क्षति पुगेको अनुभव गरिएको छ । यसकारण समेत भाष्करलाई अब महासंघको नेतृत्वमा ल्याउनुपर्नेमा अधिकांशको जोड छ । भाष्करको नेतृत्वसँगै महासंघ पुनः एक हुने र अझ बलियो रुपमा प्रस्तुत हुनसक्ने धेरैको बुझाई देखिन्छ ।  

कुराकानीकै क्रममा महासंघका अर्का एक पूर्व अध्यक्षले त हिजोको दिनमा कटुतापूर्ण सम्बन्ध रहे पनि प्रदीपजंग पाण्डे र उनका छोराहरुले समेत भाष्करलाई नै महासंघको नेतृत्वमा आएको हेर्ने चाहना राखेका दाबी गर्न भ्याए । ‘पुराना कुरा बिर्सिएर महासंघलाई बलियो बनाउनका लागि भाष्करलाई अध्यक्ष बनाउनुपर्छ भन्ने सवालमा प्रवलजंग पाण्डेहरुको समेत समर्थन देखिन्छ ।’ स्रोतले भन्यो–‘भाष्करले अध्यक्षको चुनाव लड्ने परिस्थिति बन्यो भने उनको चुनावी अभियानको कमाण्डर प्रवलजंग बने भने अचम्म नमान्दा हुन्छ।’