-भक्तराज रसाइली
काठमाण्डौ । माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे सेक्युरिटीज लिमिटेड बैंकका सहायक कम्पनीका लागि ब्रोकर लाइसेन्स आवेदन गर्ने पहिलो कम्पनी बनेको छ । 

गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स आवेदन खुलाएसँगै मंगलबार नेप्सेमा माछापुछ्रे सेक्युरिटीजले आवदेन दिएको हो । 

वाणिज्य बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिने विषय लामो समयदेखि अड्किएको थियो । तर, चौतर्फी दवाबपछि नेप्सेले साउन १६ गते वाणिज्य बैंकका सहायक कम्पनीलाई ‘धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि,२०७६’ जारी गर्दै यो विषयमा ब्रेकथ्रू गरिदिएको थियो । नेप्सेले साउन १७ देखि आवेदन आह्वान गरेको थियो ।

सेयर ब्रोकरेज सेवा संचालनका लागि बैंकका सहायक कम्पनीलाई केही शर्त तथा मापदण्ड समेत तोकिएका थिए । धितोपत्र सम्बन्धी ऐन,२०६३,धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली,२०६४ बमोजिम धितोपत्रको सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि आवेदन दिने वाणिज्य बैंकका सहायक कम्पनीहरु निम्न शर्त तथा मापदण्ड पूरा गरेको हुनुपर्ने छः

  • १.प्रचलित कानून बमोजिम स्थापित भएका वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको हुनुपर्ने
  • २.न्यूनतम चुक्तापूँजी रु.दुई करोड हुनुपर्नेछ ।
  • ३.नेपाल राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको हुनुपर्ने
  • ४.कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने

बैंकका सहायक कम्पनीहरुले नेप्सेमा आवेदन दिएपछि नेप्सेले आवश्यक प्रक्रिया पूरा गरी धितोपत्र दलालको कारोबार गर्ने इजाजतको लागि बोर्डमा सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ ।