काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी तथा नाफामा निकै ठूलो असर पर्ने गरी गरिएको स्प्रेड गणनाको नयाँ व्यवस्था र अन्य केही महत्वपूर्ण निर्देशनबाट तत्काल पछि नहट्ने केन्द्रीय बैंकले संकेत गरेको छ । 

नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोचविचार गरेर र लामो अध्ययनपछि नै केही नयाँ नीतिगत व्यवस्था गरिएको भन्दै आजको भोलि नै निर्णय वा निर्देशन फिर्ता नहुने दाबी गरे । 

‘बैंकर साथीहरुले आज ४ बजेको समय लिनुभएको छ, उहाँहरु छलफल गर्न आउनु हुँदैछ ।’ उनले भने–‘आज उहाँहरुको कुरा सुन्छौ । त्यसपछि इनहाउस छलफल गरी उपयुक्त निर्णयमा पुग्छौ ।’ 

उनले सोमबार गरिएको परिपत्र र निर्देशनको कार्यान्वयन गर्ने क्रममा भोलिका दिनमा बैंकिङ क्षेत्रमा थिति नै बिग्रिने अवस्था भएमा चाहि राष्ट्रबैंक समेत अहिलेको निर्देशन सच्याउन तयार रहेको प्रष्ट पारे । तर, आजको भोलि नै निर्देशन नसच्चिने उनको दाबी थियो । 

उनले बैंकरहरुले आज चित्त दुखाए भनेर निर्देशन फिर्ता लिने काम गरिए भोलि अर्को समूहले चित्त दुखाउने उल्लेख गर्दै भने–‘आज बैंकरले चित्त दुखाए, भोलि निर्देशन फिर्ता लिएर व्यापारीले चित्त दुखाउलान्, त्यसबेलामा के गर्ने ?’ 

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफूहरुलाई बैंकरहरु ४ बजे राष्ट्रबैंक आउने भनी जानकारी गराएका शिवाकोटीले जानकारी दिए । ढुंगाना लगायतका बैंकरहरुले बुधबार बैंकर्स संघले गरेको निर्णयको विषयमा लिखित जानकारी गराउने र राष्ट्रबैंकको नयाँ व्यवस्थाबाट बैंकिङ क्षेत्रलाई पर्नसक्ने प्रभाव र मर्काको विषयमा समेत सविस्तार लगाउने कार्यक्रम छ ।

अध्यक्ष ढुंगानाले ४ बजे राष्ट्रबैंक जाने र बुधबारको निर्णयको विषयमा जानकारी गराउने कार्यक्रम रहेको पुष्टि गरे ।