-भक्तराज रसाइली 
काठमाण्डौ । अर्थसमितिले हिजो एक पत्र पठाउँदै  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई  बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स तत्कालका लागि अगाडि नबढाउन र अर्थसमितिले गठन गरेको उपसमितिलाई  अध्ययन गर्न सहयोग गर्ने आशयको पत्र पठाएको छ। 

बिजशाला स्रोतअनुसार नेप्सेलाई हिजो अर्थसमितिबाट पत्र पाएको हो। 

अर्थसमितिले बुधबार डाकेको सर्वपक्षीय बैठकद्वारा सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा गठित उपसमितिलाई बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन अध्ययन उपसमिति गठन गरेको जनाउँदै अर्थसमितिले पठाएको पत्रमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिंदा अध्ययन अनुसन्धान हुनुपर्ने ठहर गर्दै सो सम्बन्धमा जानकारी गराएको स्रोतको भनाइ छ ।  

गत बुधबार बसेको अर्थसमितिको बैठकमा सांसद रामकुमारी झाक्रीले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिंदा इन्साइडर ट्रेडिङ नहुने सुनिश्चितता के हो ? र कस्तो सजाय हुने भन्दै गर्जेपछि काठमाण्डौमै ब्रोकर लाइसेन्स थप्ने भए पूँजीबजार विकास र विस्तारको परिकल्पना साकार नहुने दाबी समेत गरेकी थिइन् । 

अर्थसमितिका सभापति कृष्ण दाहालले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा अध्ययन उपसमिति गठन गर्ने निर्णय  गरेका थिए । ५ सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु रामबाबु यादव, प्रमिला राई, कुमार राई र मेटमणी चौधरी रहेका छन् । 

उपसमितिलाई २ महिना भित्र आफ्नो अध्ययन प्रतिवेदन बुझाउन  समयसीमा तोकेकोमा अर्थसमितिले उपसमिति बनाई अध्ययन गर्ने भएपछि ब्रोकर लाइसेन्स दिने प्रक्रिया प्रभावित हुने बताइन्छ  । 

संसदको अर्थसमितिले कुनै विषयमा अध्ययन गर्ने भएपछि त्यस भित्र सरोकार राख्ने निकायले आफ्नो निर्णय प्रक्रिया स्थगन गरी समितिलाई सघाउने र निर्णय पर्खने चलन छ । 

अर्थ समितिले ठोस रुपमा नभने पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा हुनसक्ने आँकलन गर्दै त्यसको असर अध्ययन गर्न यस्तो निर्णयमा पुग्नु परेको अर्थसमितिको बुझाइ  छ ।

यता नेप्सेले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्सको आवेदन आह्वानका लागि गत साउन १७ गते सूचना प्रकाशित गरेर प्रक्रिया अघि बढाइएको छ । बैंकका सहायक कम्पनीहरुको  ब्रोकर लाइसेन्स काठमाण्डौ चक्रपथभित्रै सीमित हुने भएपछि लगानीकर्ताहरुलाई भने ठूलो झट्का लागेको छ ।

हिजोका दिनमा सार्वजनिक फोरमहरुमा बैंकलाई ब्रोकर लाइसेन्स वितरण आस्वा मोडलमा गरिने र हाल प्राथमिक बजार ७७ जिल्लामै पुगे झै देशका कुनाकुनाबाट दोश्रो बजारबाट  धितोपत्र कारोबार हुने बताउँदै आएका धितोपत्र बोर्ड अध्यक्ष  कार्कीले एकाएक जिब्रो फेर्दै गत बुधबार अर्थसमितिले डाकेको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले  उपत्यकाबाहिर सबै जिल्लामा आर्थिक सवलता नभएको जिकिर गर्दै बैंकका सहायक कम्पनीका शाखाले मात्रै शाखा विस्तार गर्न पाउने व्यवस्था भएको जानकारी दिए। 

उपत्यका बाहिर बैंकका सहायक कम्पनी अबको ५–७ वर्षसम्ममा जाने बताए । सो बैठकमा देशको विकास भए मात्रै पूँजी बजारको विकास हुने तर्क पेसेका कार्कीले  हाल कायम नेप्से र  ५० ब्रोकरहरुसङ्गको व्यक्तिगत टकराव र सनककै भरमा बैंकलाई ब्रोकर लाइसेन्स ल्याउन कम्मर कसेर लागेका थिए । 

बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाएपछि नेप्से इन्डेक्स बढेको बेला किनेर फसेका लगानीकर्ताहरु बैंकले ब्रोकर लाइसेन्स पाएपछि गाउँगाउँमा बैंकका शाखा मार्फत धितोपत्र कारोबार हुने र नेप्से इन्डेक्स बढेर बेच्ने सपनामाथि नै तुषारापात परेको छ नै अर्कोतिर  बोर्ड अध्यक्ष कार्कीको अभिव्यक्तिले समेत बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण बिना अध्ययन व्यक्तिगत सनककै भरमा ल्याइएको अवधारणा प्रमाणित हुन्छ ।