काठमाण्डौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि ४० करोड रुपैयाँ खर्च लाग्ने जनाएको छ।

आयोगका अनुसार कुल ५० पदका लागि हुने निर्वाचनमा ४० करोड रुपैयाँ खर्च लाग्ने प्रस्ताव गरी निकासीका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने काम भइसकेको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि निर्वाचन हुँदैछ । जसका लागि ५५० मतदान केन्द्र कायम हुने जानकारी उनले दिए ।

निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । निर्वाचनमा करीब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको छ ।

निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताउनुभयो ।