काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुलाई पछिल्ला केही दिनमा नराम्रोसँग झड्का लागिरहेको छ । 

कुनै बेलामा उद्योगकै लोभलाग्दो प्रगति गर्ने बैंकको रुपमा चिनिएको इन्भेष्टमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक रिपोर्ट खराब आएपछि यसले लगानीकर्ताको मनोबलमा प्रभाव पारेको देखिएको छ । 

यहीकारण बैंकको दोश्रो बजारको सेयर मूल्य लगातार घट्न थालेको छ । 

अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा बैंकको खूद नाफा ६.६६ प्रतिशतले घटेको वित्तीय विवरण आएपछि यसको बजार मूल्यमा प्रभाव परेको हो ।

अन्य वर्ष आकर्षक लाभांश वितरण गर्ने कम्पनीमा गनिने यो बैंकले २०७५/७६ का लागि लगानीकर्तालाई बढीमा १० प्रतिशत मात्र लाभांश बाँड्न सक्ने हैसियत बनाएको छ । यसले समेत लगानीकर्तामा बैंकको सेयर बिक्रीमा चासो बढेर गएको देखिएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले ६ दिनअघि वित्तीय विवरण सार्वजनिक गरेको थियो । तर, यो कम्पनीको नाफा घट्दैछ र समग्र सूचकहरुमा उत्साहजनक नहुने हल्ला पहिलादेखि नै बजारमा छाएको थियो । जसका कारण लगानीकर्ताहरुले यो बैंकको सेयर बिक्री गर्न थालेका थिए । 

पछिल्ला १३ कार्यदिनको कारोबारलाई हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा ९.४२ प्रतिशतको गिरावट आइसकेको देखिन्छ । १३ दिनअघि प्रतिकित्ता ५२० रुपैयाँको दरले कारोबार भइरहेको यो बैंकको सेयर मंगलबारसम्म आइपुग्दा ४७१ रुपैयाँ प्रतिकित्तामा झरिसकेको छ । 

यो अवधिमा नवील बैंकको ८०१ रुपैयाँ प्रतिकित्ताबाट झरेर ७७८ रुपैयाँमा सीमित बन्न पुगेको देखिन्छ । 

नेपाल इन्भेष्टमेन्ट र नवील बैंकको तुलनामा एनआइसी एशियाको सेयर मूल्य भने उति सारो घटेको छैन । 

समग्र बजार नै घटिरहेको अवस्थामा कम्पनीहरुको सेयर मूल्यमा सामान्य उतारचढाव हुनु सामान्य कुरा हो । तर, इन्भेष्टमेन्ट बैंकको गिरावट भने स्वभाविक देखिन्न । 

नवील बैंकको गिरावटलाई पनि स्वभाविकै मान्न सकिन्छ । तर, धेरै कम्पनीहरुको सेयर मूल्य घट्दा समेत एनआइसी एशियाको सेयर मूल्यमा भने खासै धेरै गिरावट आएको छैन । 

अगस्ट महिनाको पहिलो कारोबार दिन एनआइसी एशियाको सेयर मूल्य ४६७ रुपैयाँ प्रतिकित्ता रहेको थियो । मंगलबार बजार बन्द हुँदा एनआइसी एशियाको मूल्य प्रतिकित्ता ४५३ रुपैयाँ रहेको छ । यसले एनआइसी एशियाले मार्दै गएको छलाङप्रति लगानीकर्ताहरु विश्वस्त रहेका देखाउँछ भने समग्र उद्योगमा एनआइसी एशियाले नेपाल इन्भेष्टमेन्ट बैंकको स्थान लिएर नवीललाई समेत टक्कर दिने हैसियत बनाइरहेको समेत यो ट्रेण्डले देखाउने विश्लेषण गर्न थालिएको छ ।