काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको झन्डै ४ दशक पुरानो बास्केटबल जर्सी लिलामीमार्फत बिक्री भएको छ ।

अमेरिकास्थित हेरिटेज अक्सन हाउसले ओबामाको ३९ वर्ष पुरानो जर्सी लिलाममार्फत १ लाख २० हजार अमेरिकी डलर अर्थात १ करोड ३७ लाखभन्दा बढी मूल्यमा बेचिदिएको हो । अक्सन हाउसका अनुसार २३ नम्बरको उक्त जर्सी ओबामाले सन् १९७८ देखि १९७९ को बीच १८ वर्षको उमेरमा स्कुलमा बास्केटबल खेल्न प्रयोग गरेका थिए । यो जर्सी सोही स्कुलमा ओबामाका जुनियर पिटर नोबलले अक्सनमा राखेका हुन् ।

बिक्नुअघि जर्सीको न्यूनतम मूल्य १ लाख डलर तोकिएको थियो । जर्सी खरिद गर्न करिब २७ जनाले बोली लगाएका थिए । अन्तमा एक अमेरिका र खेल कलाकृतिसम्बन्धी संग्रहकर्ताले जर्सी किन्न सफल भए। उनको नाम भने खुलाइएको छैन ।

पूर्वराष्ट्रपति ओबामालाई बास्केटबल खेल निकै मन पथ्र्यो । उनी ह्वाइट हाउसमा पनि आफ्ना स्टाफ, सेलिब्रिटिज र आफन्तसँग आफ्ना कार्यकाल रहेको अवस्थामा यो खेल खेल्दै गरेको थुप्रैपटक देखिएका थिए । – एजेन्सी