काठमाण्डौ । बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ ।

फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गर्नुभएको हो । वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा यसले विश्व अर्थतन्त्रमा समस्या आएको बताइएको छ ।

वियरिट्समा हुन लागेको जी–सेभेन राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानभित्रै सञ्चारकर्मीसँग भएको कुराकानीमा प्रधानमन्त्री जोनसोनले भन्नुभयो, “मलाई यस बिषयले निकै चिन्तित तुल्याएको छ । यसको प्रभाव बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ तर यो खतरा मोल्न बेलायत चाहिरहेको छैन । यस्तो निरन्तरता हुनु राम्रो होइन । यसले कसैलाई फाइदा गर्नेछैन ।” उहाँले थप्नुभयो, “म तनाव कम होस् भन्ने पक्षमा रहेको छु ।”

उता चीनले ७५ अर्ब अमेरिकी डलरबराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ ।

चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो । तर अमेरिकामा निरन्तरको करवृद्धिले देशको अर्थतन्त्रलाई नै प्रभावित पार्नसक्ने विज्ञहरूको धारणापछि यसलाई डिसेम्बर १५ सम्मका लागि पछि सारेको थियो ।

चीनले नयाँ करवृद्धिबारे अमेरिकी निर्णयको प्रतिक्रियास्वरूप पछिल्लो घोषणा गरेको हो । “चीनले अमेरिकाबाट चीन आयात हुने विभिन्न पाँच हजार ७८ अमेरिकी सामानहरूमा पाँचदेखि १० प्रतिशतसम्म कर वृद्धि गर्नेछ,” चिनियाँ राज्य परिषद् राजश्व कार्यालयले बताएको छ । - रासस/एएफपी