काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनको आयातमा लाग्दै आएको अन्तशुल्क हट्नसक्ने संकेत गरेका छन् । तर, यो काम तत्काल भने हुन नसक्ने उनको भनाई छ । 

नाडा अटो शो २०१९ मा उद्घाटन मन्तव्य दिंदै अर्थमन्त्री डा. खतिवडाले विश्व व्यापार संगठनको मान्यता भन्दा बढी नै नेपालले सवारी साधनलाई भन्सार दर लगाइरहेको स्वीकार गर्दै भने–‘मुलुकको आवश्यकता र परिस्थितिका कारण पनि हामीले ८० प्रतिशतभन्दा बढी भन्सार दर लगाउदैनौ भने पनि बढी लगाइरहनु परेको छ । मुलुकको आवश्यकता र गाडीको आयातको अवस्थालाई ८० प्रतिशत भन्सार दरले मात्र धान्न सकेनौ । त्यसैले हामी अन्तशुल्कतर्फ प्रवेश गरेका हौ । तर, राजश्व संकलनका अन्य वैकल्पिक स्रोतहरु तयार हुँदै गएपछि यो विषयमा हामी पुनरविचार गर्नेछौ । अटोलाई मात्रै बढी टार्गेट गर्ने हाम्रो नीति त्यसपछि परिवर्तन हुनेछ ।’

अहिले सरकारले सवारी साधनको आयातमा ८० प्रतिशत भन्सार, त्यसमा ६० प्रतिशत अन्तशुल्क र त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) असूल्दै आएको छ । 

गाडी धेरै आयात भए अर्थतन्त्रको अन्य फङ्सन बिग्रिन्छ
अर्थमन्त्री डा. खतिवडाले मुलुकका लागि चाहिने भन्दा बढी गाडीको आयात गरिए त्यसले अर्थतन्त्रको मुख्य फङ्सन नै बिगारिदिनसक्ने दाबी गरेका छन् । व्यक्तिको स्वास्थ्यसँग तुलना गर्दै सांकेतिक भाषामा उनले भने–‘मानिसले धेरै फ्याट भएको खानेकुरा लिन थाल्यो भने मोटाउन थाल्छ, त्यसपछि अधिक फ्याटकै कारण उसको शरीरको अन्य फङ्सन पनि बिग्रन सक्छ । त्यसकारणा मुलुकलाई आवश्यक गाडीको संख्या कति हो, यकिन हुन आवश्यक छ । मुलुकको आम्दानीले धान्नसक्नेसम्मको गाडी मात्र आयात हुनुपर्छ, होइन भने अवस्था जटिल बन्छ ।’

उनले मुलुकको आम्दानी बढ्दै जाँदा र नागरिकको क्रयशक्तिमा पनि बढोत्तरी हुँदै गर्दा सवारीको माग पनि बढ्ने समेत बताए । त्यो अवस्था अहिले हो या होइन भन्ने विषयमा समेत निश्कर्षमा पुग्नुपर्नेमा उनको जोड थियो । 

दुई वर्षमै सवारी साधनको संख्या दोब्बर भएको र विगत १० वर्षमा त ४ गुणा बढी सवारी आएको उल्लेख गर्दै हरेक वृद्धिको एउटा सीमा हुनुपर्ने बताए । ‘उदीयमान अर्थतन्त्रको एउटा चरणसम्म सवारीको माग बढ्दै जान्छ । अस्वभाविक वृद्धि भयो भने रोग पो लाग्यो कि क्या हो भन्ने हो । परिपक्व अर्थतन्त्र हुँदै गएपछि केही कमी आउँछ ।’ उनले भने । 

उनले गाडी आयात गर्ने मात्र नभई सडक विस्तार र सुरक्षामा समेत विशेष ध्यान दिइनुपर्नेमा जोड दिए । 

उनले देशको बजेटको इतिहासमै पहिलोपटक यो पटक आफूले सडक मर्मत सम्भारमा बढी बजेट विनियोजन गरेको दाबी समेत गरे । 
उनले सवारी साधनबाट असूलिने सडक मर्मत सम्भार दस्तुरको उपयोग सम्भारमै गर्नुपर्नेमा जोड दिंदै यो पटकको बजेटमा दोश्रो ठूलो बजेट भौतिक पूर्वाधार विकासमा विनियोजन गरेको समेत जानकारी दिए । 

इलेक्ट्रिक गाडीको एसेम्बली उद्योग खोले राज्यको संरक्षण
उनले इलेक्ट्रिक गाडीको एसेम्ब्ली उद्योग स्थापना गर्नेलाई राज्यले विशेष संरक्षणको नीति लिइने समेत जानकारी दिए । 

‘आयातित कार र अटोमोवाइलबाट आम्दानी बढाउने भन्दा केही मूल्य अभिवृद्धि गर्ने एसेम्बली प्लान्ट नेपालमा राख्नुहोस् । कमसेकम २० प्रतिशत मूल्य अभिवृद्धि हुने खालको एसेम्ब्ली लगाउनुहोस्, त्यसमा सरकार थप छलफल गर्न तयार छ । औद्योगिकरणको प्रवेश एसेम्बलीबाटै जाने हो ।’ खतिवडाले भने–‘एसेम्ब्ली उद्योगलाई हामी प्रोत्साहन दिन्छौ । पहिलो प्राथमिकता विद्युतीय सवारी साधनको एसेम्ब्ली उद्योगलाई दिइनेछ । त्यस्ता उद्योगलाई राज्य संरक्षण दिन तयार छ।’

यस्ता उद्योग खोल्नेलाई आवश्यक कर छुट वा अन्तशुल्क र भन्सार छुटसम्म गर्न सरकार तयार रहेको उनले बताए । 

सरकारलाई नछल्नुहोस्
अर्थमन्त्री डा. खतिवडाले डिजेल र पेटोलबाट चल्ने गाडीका कारण प्रदूषण बढेपछि र आयातित उर्जालाई प्रतिस्थापन गर्ने गरी स्वदेशमै उत्पादित नवीकरणीय उर्जा प्रयोग हुने खालका हाइब्रीड गाडी भित्र्याउनेलाई बजेटमार्फत छुटको घोषणा गरिए पनि त्यसमा सरकारलाई नै छल्ने काम भएको गुनासो गरे । ‘तपाईहरुले  ब्याट्रीबाट स्टार्ट मात्र हुने र त्यसपछि चाहि डिजेल र पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो । यस्तो गरिदिन भएन । तपाईहरुले सरकारलाई छल्ने काम नगर्नुहोस्, सरकार इमानदारीपूर्वक फेस हुन चाहन्छ, तपाईहरु पनि इमानदार बन्नुहोस् । हाइब्रीड गाडीको व्याख्यामा गल्ती भएको भए सच्याउँछौ, भन्सारमा त्यसको कुनै मोलाहिजा हुनेवाला छैन।’

अर्को एक प्रसंगमा गाडीको दर्ता प्रक्रिया र नवीकरण प्रक्रियालाई सरलीकृत गर्न लागिएको उनले जानकारी दिए । जो जहाँ बसेर नवीकरण गर्न चाहने पनि निश्चित प्रक्रिया पूरा गरेपछि काम हुने सिस्टमको विकास भइरहेको उनले जानकारी दिए । 

कहाँ बिग्रियो व्यवसायिक वातावरण ?
उनले पछिल्लो दिनमा कतिपय व्यवसायीहरुले व्यवसायिक वातावरण बिग्रियो भनेर चिन्ता व्यक्त गरिरहेका, तर त्यसको आधार नभएको दाबी गरे । 
‘साथीहरु भन्नुहुन्छ व्यवसायिक वातावरण बिग्रियो । वातावरण बिग्रेको भए सबैभन्दा बढी कम्पनी दर्ता गत आबमा कसरी भयो ? २१–२२ प्रतिशत बैंकको कर्जा प्रवाह कहाँ गयो ? कसले उपयोग गर्यो ? आर्थिक वृद्धि ७ प्रतिशत भन्दा माथि कसरी भयो ?’

उनले पछिल्लो दशकमै आयात भन्दा निर्यात गत आबमा बढेको दाबी समेत गरे । यो वर्ष १४ प्रतिशतले आयात बढ्दा निर्यात भने १९ प्रतिशतले बढेको बताए । तर, यही बेला आयात बढेन भनेर आर्थिक गतिविधि शिथिल भयो भनेर नभन्न उनले व्यवसायीलाई आग्रह गरे ।