काठमाण्डौ । समकक्षी बैंकहरुको माझमा पृथक पहिचानसहित अधिकांश वित्तीय सूचकमा तीव्र सुधारसहित अगाडि बढेको माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको भदौ ११ गते बुधबार बसेको संचालक समितिको बै७कले आर्थिक वर्ष २०७५/७६ को खूद नाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(करसहित) वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँशाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।