काठमाण्डौ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एक रियालिटी शोमा जितेको रकममा थप रकम थपी हावाहुरीबाट प्रभावित विद्यालयको संरचना निर्माणमा सहयोग गरेका छन् । 

सिभिल बैंकका सीइओ गुरुङ तथा चर्चित हाँस्य कलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केही समयअघि प्रशारण भएको “को बन्छ करोडपति”े टिभी कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनीहरुले १ लाख ६० हजार(करसहित) नगद पुरस्कार जितेका थिए । सो रकममा थप गरी जम्मा रु तीन लाख पुर्याई गत वर्ष हावाहुरीबाट प्रभावित विद्यालयलाई सहयोग गरिएको बैंकले जनाएको छ ।

बिहीबार एक कार्यक्रमबीच पर्साको खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतका लागि सो रकम हस्तान्तरण गरिएको छ । 

सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ, युवराज गुरागाईंले विद्यालयका प्रअ रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरे । यसअघि पनि नेपाल राष्ट्रिय आधारभूतविद्यालय, जितपुर, बाराको छत मर्मतका लागि बैंकले रकम प्रदान गरेको थियो र यो सहयोग संगै बैंकले गरेको वाचा पूरा गरेको छ ।