काठमाण्डौ । भारत लगायतका देशमा पटक–पटक ह्याकरको निशानामा परिसकेको र असफल भइसकेको सफ्टवेयर प्रयोग गरी भिजा कार्ड जारी गर्ने नेप्सलाई नेपाल राष्ट्रबैंकले बोलाएको छ । 

राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेप्स संचालन गर्नेहरुलाई राष्ट्रबैंकमा आकस्मिक छलफलका लागि बोलाइएको जानकारी दिए । 

उनका अनुसार बैंकहरुको एटीएमको सिस्टमै ह्याक गरी पैसा चोरिएको र सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको छ । ‘यस्ता घटना भइरहन्छन्, सानातिना घटनाबाट अत्तालिनुहुँदैन ।’ उनले भने–‘जनताको निक्षेप कहीँ कतै केही भएको छैन, कोही पनि नअत्तालिनुहोला ।’ 

उनका अनुसार राष्ट्रबैंकको टोलीले पनि यो विषयमा छुट्टै अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा खटिएका अधिकारीहरुले बुझाउने रिपोर्टका आधारमा केन्द्रीय बैंकले चाल्ने कदमको विषयमा भन्न सकिने समेत उनले प्रष्ट्याए । 

डेपुटी गभर्नर शिवाकोटीले भिजा नेटवर्क अन्तर्गतका कार्डहरुको प्रयोगमा राष्ट्रबैंकले केही समयका लागि कडाई गर्नसक्ने संकेत समेत गरे । ‘केही समय एटीएमको कारोबार कसरी गर्ने भन्ने बिषयमा विचार गर्नुपर्ने हुन्छ ।’ उनले बिजशालासँग भने–‘यो प्रकरणमा केन्द्रीय बैंक पनि गम्भीर अनुसन्धानमा छ । तर, अब एटीएमको प्रयोग गर्दाको सचेतना र अन्य विषयमा छलफल गरेर मात्र पहिलाको जस्तै सहज अवस्था बन्नसक्छ ।’