काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसलहरु आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन हुँदैछ ।

दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि देशभर ७३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । यी पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा रहनेछन् ।

काठमाण्डौको रामशाह पथ सिहंदरबारको पहिलो एकीकृत सहुलियत पसलको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्घाटन गरेपछि विधिवत् रुपमा सबै ठाउँमा सहुलियत पसलहरु सञ्चालनमा आउने छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले सहुलियत पसलहरु सञ्चालन गर्दैछन्। जसमध्ये काठमाण्डौमा तीनवटा घुम्ती पसल हुनेछन् ।

साल्ट ट्रेडिङले देशभर ३५, व्यापार कम्पनीले २३ र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छन् । जसअनुसार साल्ट ट्रेडिङले कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायतका स्थानमा नौवटा र तीनवटा घुम्तीसहित काठमाडौं उपत्यकामा ११ वटा पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहिर विभिन्न जिल्लामा साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गर्नेछ ।

यसैगरी दुग्ध विकास संस्थानले पनि काठमाडौं उपत्यकामा ४ र उपत्यकाबाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै व्यापार कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरमा ५ र अन्य जिल्लामा १८ वटा पसल सञ्चालन गर्नेछ ।