काठमाण्डौ । निक्षेप सदस्यहरुले अनधिकृत रुपमा डिम्याट खाता खोलेका भन्दै धितोपत्र बोर्डले सो सम्बन्धमा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई निर्देशन दिएको छ । 

बोर्डको सुपरीवेक्षण तथा अनुसन्धान विभागले भदौ २५ गते सिडिएससीलाई पठाएको निर्देशन सार्वजनिक गरेको हो । 

निर्देशनमा विभिन्न निक्षेप सदस्यहरुले सम्बन्धित व्यक्ति स्वयम् उपस्थित नहुँदा समेत डिम्याट खाता खोल्ने गरेको, एक व्यक्ति उपस्थित भई अनधिकृत रुपमा अन्य धेरै व्यक्तिको नाममा समेत खाता खोल्ने गरेको र त्यस्ता खाताहरुको नवीकरण गर्ने गरेका गुनासाहरु आएका भन्दै सो सम्बन्धमा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको हो । 

यस्तो प्रकारको कार्य गरिएको भेटिएमा धितोपत्र सम्बन्धी ऐन बमोजिम कडा कारबाही हुने पनि बोर्डको प्रष्टोक्ति छ । 

हाल एक लगानीकर्ताले दुईवटासम्म डिम्याट खाता खोल्नसक्ने व्यवस्था छ । यस्तो खाता खोल्दा खातावाल स्वयम् उपस्थित हुनुपर्ने प्रावधान छ ।