काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत एक वर्षभित्र प्राप्त विभिन्न २७ सयभन्दा बढी उपहार लिलामीमा राखिएको छ ।

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहारको शनिबारदेखि अनलाइन प्रणालीबाट लिलामी प्रक्रिया सुरु गरिएको हो । भारतका केन्द्रीय संस्कृतिमन्त्री प्रह्लाद सिंह पटेलले लिलामी प्रक्रियाको शनिबार उद्घाटन गरे । मन्त्री पटेलका अनुसार लिलामीमा राखिएका उपहारहरुको न्यूनतम मूल्य रु. ३२० देखि रु ४ लाखसम्म तोकिएको छ । 

लिलामीमा प्रधानमन्त्री मोदीलाई प्राप्त उपहारमध्ये ५७६ सल, ९६४ अंगवस्त्र, ८८ पगडी र विभन्न ज्याकेट राखिएका छन् । यी वस्तुको लिलामीबाट प्राप्त हुने रकम केन्द्र सरकारले स्वच्छ गंगा अभियानअन्तर्गत ‘नमामि गंगे’ परियोजनामा प्रयोग गरिने प्रधानमन्त्री मोदीद्वारा शनिबार गरिएको ट्विटमा उल्लेख छ ।

यसअघि गत जनावरीमा पनि प्रधानमत्ती मोदीलाई उपहारमा प्राप्त विभिन्न १८ सयभन्दा बढी वस्तुको अनलाइन प्रणालीबाट लिलामीमार्फत बेचिएको थियो । उक्त लिलामी १५ दिनसम्म चलेको थियो । यो लिलामी प्रक्रियाबाट प्राप्त रकम पनि सोही परियोजनाका लागि दान गरिएको थियो । –एजेन्सी