काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भदौ २९ गते आइतबारदेखि लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस)प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ । 

आईतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुखकार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले पहिलोपटक २० करोडको ट्रेजरी डिल स्लिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्रणालीको प्रत्यक्ष उदाहरण पेश गरेका थिए ।

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दामाथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

विश्वका अधिकांश मुलुकमाजस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उद्देश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) प्रणाली कार्यन्वयनमा ल्याईएको हो।