काठमाण्डौ । नेपाललगायत दक्षिणपूर्व एसियाली देशहरुमा यो वर्ष डेंगुको प्रकोप अनियन्त्रित देखिएको छ ।

अझै पनि नेपालमा हजारौँ मानिस डेंगुबाट प्रभावित छन् । डेंगु अझै अनियन्त्रित छ । डेंगु यतिखेर सरकारको टाउको दुखाइको विषय बनेको छ ।

विशेषगरी नेपालसहित फिलिपिन्स, भियतनाम, मलेसिया, म्यान्मार र कम्बोडियामा डेंगुको संक्रमण भयावह देखिएको छ । विशेषज्ञहरुले यसलाई बढ्दो तापमान र बच्नका लागि पर्याप्त उपाय नहुँदा यस्तो अवस्था आएको बताएका छन् ।

यता केही वैज्ञानिकहरुको समूहले लामखुट्टेबाट हुने डेंगु संक्रमण रोक्न डेंगुप्रतिरोधी लामखुट्टे उत्पादन गर्ने अनुसन्धानले सफल पाएको छ । उनीहरुको यो अनुसन्धानले अब डेंगु संक्रमणसँग लड्न सक्ने आशाको उम्मिद पलाउन थालेको छ ।

वैज्ञानिकहरुको यो खोजलाई अहिलेसम्म नौवट देशमा परीक्षण पनि गरिसकिएको छ । यी देशमा यसको सकारात्मक परिणाम बाहिर आएको छ ।

लामखुट्टेबाट हुने रोगसँग लड्न वैज्ञानिकहरुले वल्र्ड मस्क्विटो प्रोग्राम (डब्ल्यूएमपी) अन्तर्गत काम गरिरहेका छन् । यो अनुसन्धानका क्रममा पहिले एडिज जातको (डेंगु फैलाउने) पोथी लामखुट्टेलाई जंगलमा छाडिन्छ र रोगप्रतिरोधी ब्याक्टेरिया भोल्बाचियाबाट संक्रमित गरिन्छ । केही हप्तापछि पोथी लामखुट्टेको लाभ्राबाट उत्पादन हुने लामखुट्टे यो भोल्बाचिया ब्याक्टेरियासहित जन्मिन्छ । जुन पछि डेंगु रोग प्रतिरोधकका रुपमा काम आउँछ ।

यसबाट डेंगुमात्र होयन जाइका, चिकनगुनियाजस्ता रोगबाट पनि बचाउन सकिने वैज्ञानिकहरु बताउँछन् ।

पहिलोपटक उत्तरी अस्ट्रेलियामा यस्तो परीक्षण गरिएको थियो । भियतनाममा डब्ल्यूएमपीका प्रोजेक्ट स्रयोजक गुएन बिह्न गुयेनका अनुसार भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे ल्याएर छाडिएपछि डेंगुको संक्रमण निष्तेज हुँदै गएको पाइयो ।

गुएनको टोलीले डेंगुबाट अतिप्रभावित दक्षिणी भियतनामको विह्न लुओंगमा यसरी उत्पादित भोल्बाचिया ब्याक्टेरिया संक्रमित डेढ लाख लामखुट्टे छाडेको थियो । त्यहाँ पछि डेंगुको संक्रमण ८६ प्रतिशतले कमी आयो ।

यो खोज डेंगु नियन्त्रणका लागि ठूलो सफलता हुन सक्ने अनुमान लगाउन थालिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो वर्षमात्र दक्षिणपूर्वी एसियामा डेंगबाट करिब ६ लाख ७० हजार मानिस प्रभावित भएका छन् । जसमा १८ सय जनाको ज्यान गएको छ ।

डेंगुको मुख्य कारण बढ्दो तापमान नै हो । विश्वभर गत मे र जुलाईमा तापमान निकै बढी थियो । –एजेन्सी