काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडको व्यवस्थापनमा पहिलो म्युचुअल फण्डको रुपमा सनराइज फस्र्ट म्युचुअल फण्डले असोज ८ गतेदेखि इकाई निश्कासन गर्ने भएको छ । 

सनराइज बैंक लिमीटेडको प्रवद्र्धन रहने गरी संचालन अनुमति पाएको यो स्किमले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निश्कासन गर्न लागेको हो । 

कुल १० करोड इकाईमध्ये १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतमा १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमीटेडलाई सुरक्षित राखी बाँकी रहेको न्यूनतम ८ करोड पचास लाख इकाई सर्वसाधारणका लागि खुल्ला गरिन लागेको हो । 

यो स्किमको इकाई खरीद गर्न चाहनेले छिटोमा असोज १२ गतेभित्र र ढिलोमा कात्तिक ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

सेयरको दोश्रो बजारको विषयमा राम्रो ज्ञान नभएकाहरुका लागि म्युचुअल फण्डहरुका यस्ता स्किम लगानीका लागि उपयुक्त मानिन्छन् । पछिल्लो समय दोश्रो बजार घटेर धेरै म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू १० रुपैयाँ भन्दा तल झरिसकेको अवस्थामा निश्कासन हुन लागेको यो स्किमका इकाई बिक्री चुनौतिपूर्ण देखिन्छ । 

दोश्रो बजारमा ज्ञान नभएका र थोरै लगानी रकम भएकाहरुका लागि समेत यस्ता स्किम उपयुक्त हुन्छन् । दशैंको मुखमा निश्कासन हुन लागेको इकाईमा दशैंखर्चबाट केही रकम जोगाएर समेत लगानी गरे अझ राम्रो हुनेछ । कम्तीमा दशैंको नाममा छुट्याइएको खर्चबाट थोरै रकम जोगाई सेयर बजारमा लगानी हुनेछ । 

दोश्रो बजारमै आधारित रही लगानी व्यवस्थापन गर्ने भएका कारण यस्ता फण्डहरुको न्याभ अहिले घटेको देखिए पनि बजार बढेपछि उनीहरुको न्याभ समेत स्वतः बढ्ने नै छ । 

नेपालमा हालसम्म संचालित अधिकांश यस्ता स्किमले वार्षिक रुपमा न्यूनतम पनि १० प्रतिशत प्रतिफल दिंदै आएका छन् । 

यो स्किममा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।