-भक्तराज रसाइली
काठमाण्डौ । नेप्से सूचकमा केही दिनदेखिको दोहोरो अंकको गिरावट थामिएको छैन । समग्र नेप्से सूचक राताम्मे हुँदा लगानीकर्ताहरुमा छटपटी र व्याकुलता व्याप्त छ । समग्र बजारलाई घटाउने र बढाउने समूहको रस्साकसीमा केही दिनदेखि घटाउने समूह नै हाबी हुँदै आएको देखिन्छ ।

बियरिस ट्रेण्डमा रहेको बजार उकास्न लगानीकर्ताहरुमा आत्मबल बढाउने किसिमका सरकारी सम्बोधनको व्यग्र प्रतिक्षा छ । यही बेला पूँजीबजारको विकास तथा विस्तारका लागि सिन्को नभाँचेका भन्दै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएससीको चर्को आलोचना भइरहेको छ । 

बजारमा लामो समयदेखि धितोपत्र बोर्ड र नेप्सेबीचको जुँगाको लडाई चर्चाको शिखरमा आउने गरेको छ । यी दुई निकायको जुँगा लडाईँकै कारणले समेत पूँजीबजारको विकास र विस्तारमा अवरोध सिर्जना भइरहेको विश्लेषकहरुको भनाइ छ । 

गत साता राजधानीमा भएको एक कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले स्पष्टै रुपमा नै यस्तै जुँगाको लडाई र सिन्को नभाँच्ने प्रवृतितर्फ इंगित गर्दै बजारसँग सम्बद्ध निकायले काम गर्न नसके सरकारले हस्तक्षेप गर्नेसम्मको घुमाउरो चेतावनी नै दिए । अर्थमन्त्री खतिवडाको त्यो अभिव्यक्तिले समेत बजार सुधार र विकासका लागि नेप्से र बोर्डले पर्याप्त सहयोग गरेका छैनन् भन्ने कुरा बुझ्न उति गाह्रो नपर्ला ।

पूँजीबजारसँग सम्बन्धित नीति निर्देशनको कार्यान्वयन पाटो फितलो हुने रोग नेपाली बजारको पुरानै रोग हो । यस्तै रोगको शिकार सोझा लगानीकर्ता भइरहेका छन् । अहिले बजार घटिरहनेमध्ये एउटा कारण यो पनि हो । 

भदौ–असोजको समयलाई सेयर बजारमा ‘बाली भित्र्याउने समय’ मानिन्छ । यो समयमा सूचिकृत कम्पनीहरुले धमाधम आकर्षक लाभांश घोषणा गरिरहेका छन् । तर, आकर्षक लाभांशले समेत लगानीकर्ताहरुमा बजारप्रतिको भोक जगाउन सकेको छैन । निरन्तर घटिरहेको बजारलाई सूचीकृत कम्पनीहरुको लाभांश प्रस्तावले समेत टेवा नदिएको बेला कारोबार रकमले समेत साथ छाड्दै गएको छ, यो चिन्ताको विषय हो । 

सेयर बजारलाई ‘बैधानिक जुवाघर’ तथा ‘सट्टेबाजीको बजार’ मानिन्छ । यहाँ बजार बढेको बेला बाठा तथा ठूला लगानीकर्ताहरुले सेयर बेची पार्किङ गरेर सुरक्षित हुन्छन् भने त्यही समूह बजार घटेको बेला अझै घटाएर कौडीको भाउमा राम्रा र बलिया स्क्रीप्टहरु उठाउने हरप्रयत्न गर्दछ । यस्तै स्वार्थी समूह हाल विभिन्न मिडियाको प्रयोग गरी बजारलाई घटाई लगानीकर्ताहरुमा त्रास सिर्जना गर्दै ठूलो मात्रामा सेयर थुपार्ने रणनीतिमा लागेको स्रोतको दाबी छ । 

बजारका यावत विकृतिलाई ठूलो बनाउँदै तिललाई पहाड बनाउने अनि साना लगानीकर्ताबाट सस्तोमा सेयर थुपार्दै पछि तिनै लगानीकर्तालाई महङ्गोमा सेयर भिडाउने प्रवृतिको सबैभन्दा गतिलो र जिवन्त उदाहरण अहिलेको घट्दो बजार र यहाँभित्र खुलेआम भइरहेको चलखेल नै हो ।

घट्दो बजारमै बाठा र चलखेल गर्न जान्ने लगानीकर्ताहरुले अनेक तिकडम गरी बजार प्रभावित गर्ने खेल समेत खेलिरहेकै हुन्छन् । बजार घटिरहेका बेलामा प्यानिक बनेका लगानीकर्ताहरु आन्दोलन घोषणा, मन्त्रीहरुसँग गुनासो पोख्ने लगायतका वितण्डा मच्चाउने चलन रहेको विश्लेषक रविन्द्र भट्टराईले बताउने गरेका छन् । यही प्रवृत्तिलाई निरन्तरता दिनका लागि ‘स्वतन्त्र लगानीकर्ता’को ब्यानरमा एक समूहले नेप्से परिसरमा व्यापक भेला गर्ने उद्घोष गरेको छ ।

पूँजी बजारको विकास तथा विस्तारको नाम दिने, तर अन्तमा विभिन्न प्रलोभन र सेटिङमा सम्झौता गरी यस्ता आन्दोलन गर्भावस्थामै तुहाइने गरिन्छ । बजार घटेका बेला मात्र सलबलाउने यस्ता समूहले आन्दोलनका समय सेयर थुपार्ने अनि लगानीकर्ताको मनोबल बढाई सोझासाझा लगानीकर्तालाई भिडाइ बजारबाट निस्कने गरेको एक संगठनका सदस्य बताउँछन् । निरन्तर घटिरहेको बजारलाई आन्दोलनकै कारण २ सय अंक बढाएको सो समूह पुनः बजार बढाउने योजनासहित पर्दाअगाडि आउन खोजिरहेको दाबी गर्नेहरुको पनि कमी देखिएन । 

लगानीकर्ताहरुको हकहित नै केन्द्रविन्दू मानिने भएता पनि नेपालमा भने विश्वमै नभएको अनौठो रोग व्याप्त छ । बजार घट्यो कि संगठन खोलेर आन्दोलन गर्ने, बितण्डा मच्चाउने र बजार बढाइदेऊ भन्दै सरकार र अन्य निकायलाई दवाब दिने । यही प्रवृतिको परिणाम हो–नेपालका सेयर बजारका बाठा लगानीकर्ताले हेर्दा हेर्दै छोटो अवधिमा ५ वटा संगठनको दोकान खोलिसकेका छन् । संगठनमै रहेर राम्रो दोकान चलाउनेहरु त टिकिरहेकै छन्, तर त्यहाँ आफ्नो दोकान चल्दैन भन्ने महसुस गरेकाहरु फेरि नयाँ संगठन बनाउनतिर लाग्छन्, यो कुरा विगतकै केही घटनाक्रमले समेत पुष्टि गर्दछ । 

स्वार्थ समूहसँगको आबद्धताकै कारण फितलो कानूनको फाइदा उठाउँदै मनलागी संगठन खोल्ने र नियामक तथा विभिन्न कम्पनीको उच्च तहसम्म सम्बन्ध बनाई सूचनासम्म पहुँच स्थापित गरी त्यसैका आधारमा करोडौं कमाउने समूहहरुको नेपालमा कुनै कमी छैन । स्वार्थ मिल्ने १०–१५ जना भेला भयो, चिया खाँदै संगठन खोलिहाल्यो । केही महिनासम्म संगठन एकाकर गरेजस्तो गर्यो, त्यही समूहमा जब स्वार्थ बाँझिन्छ, फेरि तिनैबाट फूटेर अर्को संगठन जन्मायो । यो प्रवृतिले पछिल्लो समय नेपालको सेयर बजारलाई समेत नराम्ररी गाँजेको छ ।

अनि जतिवटा संगठन खुल्दै गयो, त्यतिवटालाई नै नियामकले समेत भाउ दिएपछि यो विकृति झांगिदै गएको देखिन्छ । संसारमै कहीँ नभएको जात्रा नेपालको सेयर बजारमै भइरहँदा समेत नियामकका अधिकारी तिनै गैरकानूनी र दर्ता नभएका(खुलेका मध्ये अधिकांश)सँग उठबस गरिरहने अनौठो दृश्य समेत हाम्रै देशमा देखिन्छ । लगानीकर्ताको हकहितलाई टुकुचाको दुर्गन्धमा मिसाई उनीहरुको विश्वासलाई मनिटाइज(पैसा कमाउन प्रयोग गर्ने) गर्ने प्रवृति नेपाली सेयर बजारको तीतो सत्य हो ।  

यस्तै र यिनै स्वार्थी समूहको पछि सोझा लगानीकर्ताहरु लागिरहने हो या विवेकपूर्ण लगानीतर्फ ध्यान दिने हो, निर्णय लिने बेला आएको छ । कसैको घोडा बन्नुभन्दा वा यस्ता समूहको पछि लाग्नुभन्दा समय छुट्याएर कम्पनी तथा बजारको विषयमा राम्रो अध्ययन गरी खरीदबिक्रीको निर्णय लिनु उचित हुन्छ । कम्तीमा थोरै मात्र ज्ञानले पनि लहै लहैको भर वा अरुले उकासेको आधारमा सेयर खरीदबिक्रीको निर्णय भविष्यमा गर्नुपर्ने बाध्यतामा पर्दैन । यसले आम लगानीकर्ताको सम्पत्ति जोखिममा पर्नबाट जोगाउन सक्छ भने आज सेयरमा गरिएको लगानीकै कारण भोलि पुर्पुरोमा हात राख्ने दिन नआउनसक्छ ।