काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असहमति जनाएपछि नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीलाई चिठ्ठा परेको छ ।

कम्पनीले गत आर्थिक वर्षका लागि यसअघि १५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको थियो । तर राष्ट्रबैंकले नगद लाभांशको सट्टा १५ प्रतिशत बोनस सेयर वितरण गर्न निर्देशन दिएपछि सेयरधनीहरु मालामाल बन्ने भएका हुन् ।

राष्ट्रबैंकको निर्देशनपछि संस्थाको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा हेरफेर गरेको हो । संस्थाले यसअघिको प्रस्तावित लाभांशमा हेरफेर गर्दै अब सेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि कम्पनीले नै दिने भएको छ ।

यसअघि संस्थाको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि आवश्यक रकम उपलब्ध गराउने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश स्वीकृतिका लागि गत भदौ ६ राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्र बैंकले कम्पनीको वार्षिक हिसाबकिताब अध्ययन गर्ने क्रममा पुँजीकोष पर्याप्तताका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्न नसकिने देखिएकोले बोनस सेयर नै वितरण गर्न निर्देशन दिएको हो ।

राष्ट्रबैंक निर्देशनसँगै अब यो कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत हुन आउने ७४ लाख ६६ हजार ६७० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ ।