काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको एक बोलीले सेयर बजारमा उछाल आएको छ । 

अर्थमन्त्री खतिवडाले मंगलबार कर्मचारी सञ्चयकोष ५७ औं वर्ष पूरा गरी ५८ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दोश्रो बजारमा लगानी गर्ने समय अहिले रहेको भन्दै लगानी बढाउन आह्वान गरेका थिए । 

उनले नयाँ लगानीकर्ताहरुलाई समेत उत्साहित बनाउँदै लगानीको सही समय यही रहेको दाबी गरेका थिए । 

उनले बैंक तथा वित्तीय संस्थाहरुको नाफा निकै राम्रो रहेको, आकर्षक लाभांश वितरण गरिरहेका, मुलुकको आर्थिक वृद्धिदर निरन्तर उच्च रहेको, करका द्विविधा र झञ्झटहरुको अन्त भएको दाबी गर्दै दोश्रो बजारमा लगानी गर्ने यो जत्तिको उपयुक्त अवसर फेरि नआउनसक्ने समेत बताएका थिए । 
लगानीकर्तालाई दोश्रो बजारमा लगानी बढाउन आग्रह गरेका उनले वित्तीय संस्थाहरु र सरोकारवालालाई सेयर लगानीकर्ताको मनोबल उकास्ने काम गर्न समेत निर्देशन दिएका थिए । 

कर्मचारी सञ्चयकोषलाई प्राथमिक बजारको विकासमा रणनीति नै बनाएर लाग्न आग्रह गरेका उनले नागरिक लगानीकोष लगायतका फण्डहरुले दोश्रो बजारलाई बलियो बनाउन प्रभावकारी भूमिका खेल्न थालेका समेत दाबी गरेका थिए । 

अरु बेला दोश्रोबजारप्रति नकारात्मक देखिने र सधैं बजार घट्ने गरी तीखो र तीतो बोल्ने अर्थमन्त्रीको एक बोलीले लगानीकर्ता उत्साहित देखिएका छन् । अर्थमन्त्रीको अभिव्यक्ति सार्वजनिक सञ्चारमाध्यमबाट सार्वजनिक भएको केही मिनेटभित्रमै बजारमा एकाएक खरीद चाप देखिएको छ । 

‘निरन्तर घट्दो बजारबाट प्रताडित लगानीकर्ताका लागि अर्थमन्त्रीको यो एक बोली मल्हमपट्टि बनिदियो ।’ एक ब्रोकरले भने–‘अर्थमन्त्री दोश्रो बजारप्रति सकारात्मक हुनु नै बिग न्यूज थियो, यसले लगानीकर्तामा उत्साहको सञ्चार गरिदिएको छ ।’ 

एकाएक उछालको गतिमा कुदेको नेप्से परिसूचक १ बजेको आसपासमा २१ अंकले बढिसकेको छ । 

म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचकहरुमा दोहोरो अंकको उछाल आएको छ । जलविद्युत समूह २.२१ प्रतिशतले बढेको छ भने बैंकिङ, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूह झण्डै २ प्रतिशतले बढिसकेका छन् । 

अन्य समूहमा झण्डै ४ प्रतिशतको उछाल आएको छ । 

यो समयसम्म कारोबार रकम १५ करोडको हाराहारीमा मात्र रहेको छ । यसले बजारमा सेयर बिक्री गर्ने भन्दा खरीद गर्नेका अत्यधिक चाप रहेको देखाउँछ । 

नेपाल बैंक र सिद्धार्थ बैंकले धेरै कारोबार गरेका छन् ।

कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाइसकेका छन् भने गुराँस लघुवित्तको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा बढोत्तरी भइसकेको छ ।