काठमाण्डौ । लामो समयदेखि पूँजीबजारप्रति नराम्रो अभिव्यक्ति दिंदै आएका अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा व्यक्त सकारात्मक अभिव्यक्तिका कारण बजारमा एकाएक उछाल आएको छ । 

लामो समयदेखि पहिरोको सामना गरिरहेको बजारमा अर्थमन्त्रीको एउटा बोलीले औषधिको काम गरेको हो । 

अर्थमन्त्री डा. खतिवडाले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दोश्रो बजारको विकासका लागि निकै ठूलो रकम खर्च गर्न सरकार तयार भएको र अहिलेको समय धेरै सकारात्मक परिवर्तन भइसकेकाले सेयर बजारमा लगानीको उपयुक्त अवसर भएको समेत दाबी गरेका थिए । उनले बैंक तथा वित्तीय संस्थाले राम्रो लाभांश दिइरहेका, करको समस्या हल भएको, राजनीतिक स्थायीत्व कायम भएसँगै मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको दाबी गर्दै बजार बढ्ने र यसका लागि बजार प्रवेशको उपयुक्त समय अहिले नै रहेको दाबी गरेका थिए । उनले बजारसँग सम्बद्ध निकायहरुलाई समेत लगानीकर्तामा कमजोर बनेको बजारप्रतिको विश्वासलाई बढाउने काम गर्न समेत निर्देशन दिएका थिए । 

सधैं बजारप्रति नकारात्मक टिप्पणी गरी लगानीकर्ता तर्साउने अर्थमन्त्रीको सकारात्मक यही कुराले मंगलबार बजारमा उछाल आएको हो । 

मंगलबार सेयर बजार परिसूचक(नेप्से) करिब २७ अंकले बढेर ११५०.७४ को विन्दूमा पुगेको छ । 

एकाएक उछालको गतिमा कुदेको बजारमा राम्रा र बलिया कम्पनीको सेयर उठाउनेको होड नै देखियो, जसका कारण सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.८९ अंकको बढोत्तरी भयो । 

यो दिन बैंकिङ समूह २१.०७ अंकले बढ्यो भने ट्रेडिङ समूह २.२८ अंक, होटल समूह ५७.७९ अंक, डेभलपमेन्ट बैंक समूह २६.७७ अंक, जलविद्युत समूह ३९.५ अंक, बित्त समूह ८.४६ अंक, निर्जीवन बिमा समूह ८८.५७ अंक, उत्पादन तथा प्रशोधन समूह  १०७.१ अंक, माइक्रोफाइनान्स समूह ३०.२ अंक, जीवन बिमा समूह १०२.९३ अंक र अन्य समूह २०.२६ अंकले बढे । 

म्युचुअल फण्ड समूहको उपसूचक भने यो दिन स्थिर रह्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका १३ लाख ७७ हजार ९४६ कित्ता सेयर ३८ करोड ३९ लाख ५७ हजार ४२६ रुपैयाँमा किनबेच भएका छन् । 

सिद्धार्थ बैंकले घोषणा गरेको आकर्षक लाभांशका कारण लगानीकर्ता यो कम्पनीको सेयर किन्न तँछाडमछाड गरेर लागेका देखिएको छ । यहीकारण यो कम्पनीले सबैभन्दा बढी ३ करोड ४९ लाख बढीको कारोबार गर्यो । 

नेपाल बैंकले २ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार गरेको छ भने नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८३ लाख, शिवम् सिमेन्टले करिब २ करोड, प्रभू बैंकले १ करोड ४५ लाख, सानिमा बैंकले १ करोड २८ लाख, रसुवागढी जलविद्युत कम्पनीले १ करोड १४ लाख, कृषि विकास बैंकले ९३ लाख, साञ्जेन लघुवित्तले ८५ लाख र नागरिक लगानी कोषले ८३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन शिवम सिमेन्टको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । कारोबारको अन्तिम समयमा यो कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको हो । 

गुराँस लघुवित्तको सेयर मूल्यमा समेत पोजिटिभ सर्किट नै लाग्यो । 

राधी जलविद्युत कम्पनीको सेयर मूल्य ९.४५ र अपी पावर कम्पनीको मूल्य ९.१७ प्रतिशतले बढ्यो । 

एभरेष्ट  इन्स्योरेन्सका लगानीकर्ताले यो दिन धेरै गुमाए । कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घट्यो ।