काठमाण्डौ । मल्टिपर्पस फाइनान्सप्रति नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) थप कडा रुपमा प्रस्तुत भएको छ । 

यो वित्तीय संस्थाले धितोपत्र सूचिकरण विनियमावलीको धज्जी उडाउँदै धितोपत्र दाखिला बन्दको मिति तोक्न र सो सम्बन्धी निर्णय गर्ने विषयमा हदैसम्म लापरबाही गरेपछि भदौ २९ गते नेप्सेले सो कम्पनीसँग स्पष्टीकरण माग्दै सूचिकरण स्थगन गरेको थियो । 

मल्टिपर्पस फाइनान्सको भदौ २९ गते नै बसेको संचालक समितिको बैठकले साधारणसभा प्रयोजनका लागि भदौ २९ देखि असोज ४ गतेसम्म बुक क्लोज गर्ने भन्दै सोही व्यहोराको सूचना नेप्सेलाई पठाएको थियो । धितोपत्र सूचिकरण विनियमावलीअनुसार बुक क्लोज हुने सूचना त्यस्तो दाखिला खारेज हुनुभन्दा ७ दिनअघि नेप्सेमा सूचिकृत संस्थाले पेश गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाको बर्खिलाप गरेको भन्दै नेप्सेले तीन दिने स्पष्टीकरण मागेको थियो । 

तीन दिने स्पष्टीकरण मागे पनि कम्पनीले समयै स्पष्टीकरण नपठाएपछि नेप्से थप कडा रुपमा प्रस्तुत भएको हो । 

नेप्सेले भदौ ३१ गते(मंगलबार) एक सूचना जारी गर्दै मल्टिपर्पसले तोकिए बमोजिम दाखिला खारेज नेप्सेमा सूचना प्राप्त भएको मितिबाट ७ दिन अगावै कायम गरी पठाउन र साधारणसभाको मिति समेत नयाँ कायम गर्न निर्देशन दिएको छ । 

नेप्सेले नयाँ दाखिला खारेज मिति नतोके र साधारणसभाको नयाँ मिति निर्धारण नगरेसम्मका लागि यो कम्पनीको सूचिकरण स्थगन यथावत रहने समेत स्पष्ट पारेको छ।