- भक्तराज रसाइली

काठमाण्डौ । नेपालको पूँजीबजार अहिले नाजुक अवस्थामा छ। वर्तमान सरकार र नियामक निकायका कारण पनि अहिले नेपालको पूँजीबजारको विकास र विस्तारले गति लिन नसकिरहेको आम लगानीकर्ताको गुनासो छ।

लगानीकर्ताहरुको एउटै तर्क छ– लगानीकर्ता हकहितका लागि गठित संघसंगठनबीच नै मतभिन्नता र सरकारी निकाय पनि यसप्रति खासै चिन्तित नरहेका कारण नेपालको पूँजीबजारमा यो अवस्था आएको हो। सरकार र नियामक निकायहरुको सुसुप्तता र पूँजीबजार विकासको अवरोधलाई चिर्न र सम्बन्धित निकायहरुलाई बौराउन बलियो लगानीकर्ताहरुको संगठनको आवश्यक रहेको उनीहरुको भनाइ छ ।

नेपालको पूँजीबजार विकास तथा विस्तार गर्न नियामक निकायलाई झक्झाउन र यो क्षेत्रमा देखिएका विकृति र विसंगति चिर्न एउटा बलियो संगठन गठन हुनुपर्ने आम लगानीकर्ताको माग छ ।

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल पनि लगानीकर्ताहरुको हकहितमा क्रियाशील अहिलेका पाँचवटै संगठन मर्ज गरी एउटा दरिलो संगठन गठन हुनुपर्नेे पक्षमा लबिङ गरिरहेका छन् । उनी भन्छन्, ‘पाँचवटै संगठनबीच एकीकरण गरी ‘लगानीकर्ता महासंघ’ बनाउनुपर्छ । यसले आम लगानीकर्ताको हकहितसँगै पूँजीबजार विस्तार र विकासमा ठूलो टेवा पुग्नेछ ।’

ढकालले आफू गत भदौदेखि नै एकता अभियान लागेको खुलासा गरे। बिजशालासँग उनले भने, ‘लगानीकर्ता संगठनहरुमा आन्तरिक छलफल र आन्तरिक गृहकार्य भइरहेको छ ।’

पूँजीबजारको विकास र विस्तारका लागि लबिङ र दबाब सिर्जनामा सम्पूर्ण शक्ति एकीकरण गरी हम्मरका रुपमा प्रस्तुत हुने उद्देश्यका साथ अनौपचारिक छलफल चलिरहेको ढकालको भनाइ छ । एकता सुनिश्चित भए दसैंअघि नै निर्णायक बैठक बसी ‘लगानीकर्ता महासंघ’ गठन हुन सक्ने उनले संकेत गरे ।

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल ‘लगानीकर्ता महासंघ’ बन्नु राम्रो कुरा भएको तर आफ्नो संगठनको अध्यक्ष नेपालबाहिर रहेकोले संगठनभित्र यस विषयमा छलफल नै नभएको बताउँछन् । ‘दबाब समूहका अध्यक्ष हरिजीले एकताको कुरा मकहाँ ल्याउनुभएकै हो’, उपाध्यक्ष ढकालले बिजशालासँग भने ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल पनि ‘लगानीकर्ता महासंघ’ गठन हुनुपर्छ भन्ने पक्षमा देखिए । ‘यो खुसीको कुरा हो’, उनले भने, ‘यो निस्वार्थ रुपमा पूँजीबजारको हितको चाहना र सदासयताका लागि राम्रो हुनेछ ।’

‘लगानीकर्ता महासंघ’ गठनका विषयमा छलफल चलेको र मोडालिटीका बारेमा गहन छलफल आवश्यक रहेको अर्याल औँल्याउँछन् । ‘पदीय लोलुपता र राजनीति हाबी नगराई लगानीकर्ताको हकहितमा महासंघ गठन हुनुपर्छ’, उनी भन्छन् ।

यसैगरी नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी ‘लगानीकर्ता महासंघ’ गठन हुनु राम्रो र सकारात्मक भएको बताउँछिन् । ‘दबाब समूह र हाम्रो संघबीच मर्जर गराउन हरिजीलाई मैले नै प्रस्ताव गरेकी हुँ’, चौधरी भन्छिन्, ‘यस विषयमा गोप्य छलफल भइरहेको छ, यसमा हाम्रो पूर्ण समर्थन हुनेछ ।’

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलसँग भने यस विषयमा जानकारी लिन खोज्दा फोनसम्पर्क हुन सकेन ।

केही समयअघि नेपाल पूँजीबजार संघका निवर्तमान अध्यक्ष नवराज सुवेदीले सबै संघलाई मिलाएर एउटा महासंघ बनाउने पहल गरेका थिए । उनी सफल हुन सकेनन् ।

छोटो समयमै अधिकांश लगानीकर्ताको मन जितेका दबाब समूहका अध्यक्ष ढकालले गरेको भगीरथ प्रयत्नले साकार रुप लिन सक्ला नसक्ला त्यो प्रतीक्षाको विषय बनेको छ ।