-भक्तराज रसाइली 
काठमाण्डौ । ग्राउन्ड जीरो स्तम्भका लागि ब्रोकरेज हाउसमा उपस्थित लगानीकर्ताहरुको  बजारप्रतिको धारणालाई हुबहु उतार्न यस साता हामी बिजशाला टिम न्यूप्लाजा आसपास  र प्रदर्शनी मार्गमा रहेका ब्रोकर हाउस घुम्यौं । 

प्रदर्शनी मार्गमा रहेको ब्रोकर नम्बर ३६ अर्थात् सेक्यूर्ड सेक्युरिटीज लिमिटेडमा कारोबारको पहिलो प्रहर ११ बजेअघि नै पुग्यौं ।  अक्सर गरेर पहिलो प्रहरमा लगानीकर्ताहरुको उपस्थिति निक्कै कम नै हुने गर्दछ । त्यहाँ उपस्थित एक लगानीकर्ताले बैंकमा पैसा मौज्दात राख्नुभन्दा अहिले सेयरमै लगानी गर्नु बेस भन्दै फलाकिरहेका थिए । 

एकैछिनपछि अर्का लगानीकर्ताले  फेस्टिभ मूडमा रहेको भन्दै नजिकिँदै गरेको दशैका बारे चर्चा हुन थाल्यो । विशेषगरी खसीको मासु र मूल्यका विषयमा पनि कुरा चल्न थाल्यो। केही बेरपछि एक लगानीकर्ताले भने–‘हामी अहिले सस्तो हुँदा सेयर किन्दैनौं अनि ५ वर्ष पछि थकथक हुन्छौं ।’ उनको अभिव्यक्तिबाट अहिले बजार सस्तिएको बेला सेयर थुपारे भविष्यमा राम्रै हुने बुझ्न सकिन्थ्यो । 

मारवाडी बजार नछिरे बजार बढ्दैन भन्ने कुरोले समेत त्यहाँ स्थान पाइरहेकोमा बीचैमा एक व्यक्तिले के बसिरहने र तास खेल्न जानुपर्यो भन्दै उठे र त्यहाँबाट निस्के । घडीको सुँइ १२ मा ठोक्किँदै गर्दा हामी त्यहाँबाट हिँड्यौं ।

हामी न्यूप्लाजा जाने निधो गरि ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटीज कम्पनी प्रालि उक्लियौ। त्यहाँ झुन्डमा गफ्फिरहेका भेटिएकाले निक्कै ठूलो आवाजले ब्रोकर हाउस गुन्जयमान भएको सुनिन्थ्यो । अगाडिको देब्रे कुनामा अलिक पाका लगानीकर्ताहरुको समूह, डिस्प्ले अगाडि दुई महिला र पछाडिको लाईनमा केही युवाहरूको समूह थियो । सो ब्रोकर हाउसमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक घटनाका बारेमा बहस चलिरहेको भेट्यौ। भ्रष्टाचार विरोधी ज्ञानेन्द्र शाहीका विषयमा पनि त्यहाँ कुराकानीले प्राथमिकता पाइरहेको थियोे । एकैछिनमा चिया पनि आयो, अनि हामीले पनि चियाको चूस्की लिंदै निक्कै चासो दिएर कुराकानी सुन्दै थियौं, तर त्यहाँ सेयर गस्सिप भन्दा पनि राजनीतिक कुरा नै बढी हुन्थे। 

यद्यपि पछाडिको लाइनमा बसेका लगानीकर्ता भने सेयर उठाउने भन्दै कानेखुसी गर्दै ट्रेडिङ रूमतर्फ हान्निरहेका देख्यौं । 

त्यहाँ आर्थिक विषय भन्दा पनि राजनीतिक गफ चलिरहेकाले हामीलाई अर्को ब्रोकर हाउस जान उचित ठानी पौने एक बजेतिर न्यूप्लाजाभित्रै अवस्थित ब्रोकर नम्बर २९ त्रिशुल सेक्युरिटीज एन्ड इन्भेस्टमेन्ट लिमिटेड पुग्यौं । यहाँ पनि दशैंकै विषयमा सरकारले गरेको अनुगमन नाटक भएको, तर महङ्गी नियन्त्रण गर्न असफल भएको भन्दै लगानीकर्ताहरु सरकारकै आलोचना गरिरहेका थिए । एक लगानीकर्ताले बजेट पछि बढ्छ भन्थे खै बढेन हौ ! भन्दै लामो सुस्केरा हाले। 

सबै सेक्टरमा गाह्रो स्थिति छ, कर्मचारीलाई तलब नै खुवाउन नसकिने भन्दै अर्का लगानीकर्ताले बोले। कमोडिटी मार्केटका बारेमा एक युवाले केही लगानीकर्तालाई बुझाउने काम समेत गरेका थिए। 

बीचैमा एक वृद्ध लगानीकर्ताले अन्त नजाने सेयर बजारमै लगानी गर्ने भन्दै आफ्नो विचार पोखे। त्यत्तिकैमा अर्का लगानीकर्ताले वाणिज्य बैंकका सेयर ३ वर्ष किनेर होल्ड गरिए बोराभरि पैसा हुने दाबी समेत गर्न भ्याए । 

एक लगानीकर्ताले लगानीकर्ता संघका पूर्व नेतालाई बजार यति पुग्ने भन्दै मिडियाबाजी गर्ने अनि आफ्नो अनुकूलको बजार बनाउने नियत रहेको आरोप लगाए । ‘बजार बढाउन बिदेशी पैसा नेपाल भित्र्याउनु पर्छ ।’एक लगानीकर्ताले भने–‘तर राज्य कडा भएपछि गार्हो छ।’

घडीको सुइले पौने २ हानिसकेको थियो । त्यसपछि हामी त्यहाँबाट थोरै मास्तिर भित्रपट्टी रहेको ब्रोकर नम्बर ५९ दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रालि छिर्यौ । त्यहाँ लगानीकर्ताकै माझ भलाकुसारी गरिरहेका ब्रोकर राम दाइसङ्ग भेट भयो । त्यहाँ केही सीमित व्यक्ति थिए। लगानीकर्ताहरुमा खरिदबिक्रीको उत्साह देखिएन। तर उनीहरू डिस्प्लेमा आँखा भने लगाउन छाडेका थिएनन् । सायद उपयुक्त अवसर छोप्ने दाउ हेर्दै थिए होलान् ।

बीचैमा एक लगानीकर्ताले निकै ठूलो ठूलो कारोबार भयो नि भन्दै हल्ला गर्न थाले । सोही भीडमा एक व्यक्तिको भने सरकारी  ढुकुटी खर्च नभएर पूँजी सिर्जना नभएको बुझाइ थियो। ‘बूल त कन्फर्म आउँछ, तीन वर्ष कुर्न’ एक लगानीकर्ताले अनुरोध गरे । उनले ‘५७, ६५, ७२ सालको बूल मैले देखेको छु, अब ०७९ मा अर्को बूल आउँदैछ’ भनिरहेका थिए । उनको अभिव्यक्तिमा अर्का लगानीकर्ताले पनि ‘होमा हो’ मिलाए । 

कारोबार समयको समयसीमा ३ बजे हो र घडी हेर्दा अढाई बजिसकेको थियो। अनि हामी ब्रोकर नम्बर ५० क्रिष्टल कन्जनजङघा सेक्युरिटीज प्रालि पुग्यौं । त्यहाँ करिब १० जना लगानीकर्ताको उपस्थिति देखिन्थ्यो । एक लगानीकर्ताले मार्जिन कारोबार र अन्य विषयमा  ब्रोकरले बखेडा झिकिरहेको आरोप ब्रोकरहरुलाई लगाए। छेउमा बसेका एक लगानीकर्ताले बजारमा सब्जीको भाउ बढेको, तर सेयरको भाउ नबढेको गुनासो पोखे। 

बजार घटिरहेको बेला सानाले बेचेर नै बजार घटेको अर्का लगानीकर्ताले लख काटे।