काठमाण्डौ । लगानीकर्ताहरु दशैंकको रमझमबाट बाहिर निस्किन नसक्दा सेयर बजार परिसूचकमा गिरावट आएको छ । 

नेप्से परिसूचक ०.३९ को झिनो अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर ६ करोडमा सीमित बन्न पुगेको छ । 

संघीय राजधानीका रैथाने बाहेक बाहिरी जिल्लामा दशैं मनाउन गएका लगानीकर्ताहरु अझै दशैंकै रमझममा व्यस्त छन् । सरकारी विदाको दिन सकिएर बजार खुले पनि कोजाग्रत पूर्णिमाअघिको बजारमा खासै रौनक छाउँदैन । दशैं विदापछि खुलेको बजारमा बिहीबार समेत यस्तै कारणहरु हाबी भएका हुन् । 

यो दिन बजारका ६ वटा समूहको उपसूचक बढेका छन् भने ५ वटाको उपसूचक घटेका छन् । 

बैंकिङ, विकास बैंक, बित्त समूह, म्युचुअल फण्ड, निर्जीवन बिमा समूह, जलविद्युत समूह लगायतका उपसूचकमा सामान्य बढोत्तरी भएको छ भने होटल समूह, जीवन बिमा समूह, माइक्रोफाइनान्स समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहको उपसूचक घटेको छ । 

यो दिन बजारमा १२१ कम्पनीका २ लाख ३२ हजार ६१९ कित्ता सेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन प्रभू बैंकको आकर्षक बोनस सेयर घोषणाले लगानीकर्ताको ध्यान तान्यो । बैंकले गत आर्थिक वर्षका लागि गत वर्षभन्दा दोब्बरले बढाएर १६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेसँगै बजारमा सबैभन्दा यही बैंकको सेयर कारोबार भयो । ६ करोडभन्दा केही बढी कारोबार भएकोमा प्रभू बैंक एक्लैको २ करोड ५५ लाख बढीको कारोबार भयो । 

सिद्धार्थ बैंकले ३९ लाख, महालक्ष्मी विकास बैंकले ३५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३४ लाख, सनराइज बैंकले १३ लाख, माछापुच्छे बैंकले १२ लाख, एनआइसी एशियाले १२ लाख, एभरेष्ट बैंकले ९ लाख र प्राइम बैंकले ९ लाख बढीको कारोबार गरेका छन् । 

यो दिन गुड्विल फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ । 

नेपाल सेवा लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।