काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारण सभा असोज २४ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । 

साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।