काठमाण्डौ । चीन र नेपालबीच व्यापार सहजीकरण गर्न स्थायी संयन्त्र बनाउने सहमति भएको छ । 

चिनियाँ राष्ट्रपति सी चिन फिङको राजकीय नपाल भ्रमणको क्रममा दुई देशका अधिकारीहरुबीच यस्तो सहमति भएको हो । 

यस्तो संयन्त्रमा नेपाल र चीनका वाणिज्य सचिवले नेतृत्व गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जानकारी दिए । 

यस्तो संयन्त्र नहुँदा वस्तु तथा सेवाको आयात निर्यातमा कठिनाई हुँदै आएको छ । आयात निर्यातमा कुनै समस्या आए त्यसको समाधानका लागि हालसम्म कुनै संयन्त्र बनेको छैन । 

समझदारीअनुसार अब स्थायी संयन्त्र बनेपछि नेपाल र चीनबीचको आयातनिर्यात सहज हुने विश्वास गरिएको छ । 

राष्ट्रपतिको भ्रमणको एक महिनाअघि नै नेपाल आएको चिनीयाँ बाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिबीच स्थायी संयन्त्र निर्माणको विषयमा बनेको समझदारीले आज मूर्त रुप पाएको हो ।