काठमाण्डौ । अर्थशास्त्रका नोवेल पुरस्कार विजेता भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जीले भारतीय अर्थव्यवस्था निकै गम्भीर संकटतर्फ उन्मुख भइरहेको सनसनीपूर्ण विश्लेषण सार्वजनिक गरेका छन् । 

भारतीय अर्थव्यवस्था डरलाग्दो सुस्ततातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सरकारले यो रफ्तारलाई कम गर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने सुझाव समेत दिएका छन् । 

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । आयातको निकै ठूलो हिस्सा भारतसँग रहेको र खुल्ला सीमाना तथा समान जीवनशैली लगायतका कारण भारतीय अर्थव्यवस्था मन्दीको दुर्घटनामा पर्दा त्यसको नेपाललाई समेत प्रभाव पर्ने निश्चित छ ।

बनर्जीले अहिले भारतीय अर्थव्यवस्था डगमगाइरहेको टिप्पणी गरेका छन् । हाल उपलब्ध तथ्याङ्कहरुलाई हेर्दा यो गम्भीर अवस्थामा तत्काल कुनै सुधार हुने संभावना समेत नदेखिएको उनको विश्लेषण छ ।

नोवेल पुरस्कार जितेपछि उनले भारतीय अर्थव्यवस्थाको मन्दीउन्मुख यात्राको विषयमा सार्वजनिक गरेको यो पहिलो विश्लेषण रहेको भारतीय न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् ।

भारतको एक न्यूज च्यानललाई अन्तर्वार्ता दिंदै उनले हालको संभावित आर्थिक वृद्धिदरका तथ्यहरुलाई मात्र हेर्दा मन्दीतर्फको यो यात्रामा तत्काल सुधार हुने अवस्था समेत नदिएको बताएका छन्। 

बितेका ५ ६ वर्षमा केही संभावनाका सूचकहरु देखिए पनि अब भने भरोसा समेत टुट्दै गएको बताएका छन् । 

नोवेल पुरस्कारको विषयमा समेत उनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले भनेका छन् कि करिअरमा यति चाँडै यति ठूलो सफलता पाइएला भनेर उनले कहिल्यै सोचेका थिएनन् । बनर्जीले २० वर्षदेखि आफूले गरीबी कम गर्ने उपायहरुको खोजी गरिरहेको र शोधमार्फत गरीबी कम गर्ने कोशिश गरेको बताएका छन् ।