काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’ को आयोजना हुने भएको छ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच यो प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा म्यानेजमेन्ट कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात यो वर्षको प्रतियोगिताको नाम माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’ टुर्नामेन्ट रहनेछ ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनका लागि खेलकुद अपरिहार्यजस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए। उनले पूर्वमा झापादेखि पश्चिममा महाकालीसम्म २७१ भन्दा बढी सेवा सञ्जालमार्फत आमनागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवामात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउँदै आएकोे बताए। उनले खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने प्रतिबद्धता गरे। 

शर्माले यो वर्षको प्रतियोगिता कर्पोरेट क्षेत्रको मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए।