काठमाण्डौ । अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेका छन् । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो २ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केही महत्वपूर्ण सूचकहरुमा लगातार सुधार भइरहेको जनाएको हो । 

चालु आर्थिक वर्षको पहिलो एक महिना झै दोश्रो महिना समेत आयातमा घट्ने क्रम सुरु भएको छ भने निर्यातमा सुरु भएको बढ्ने क्रम फराकिलो बन्दै गएको देखिएको छ । निर्यातमुखी अर्थतन्त्र निर्माणको अभियानमा जुटेको सिंगो देशका लागि यो सुखद पक्ष हो । 

समीक्षा अवधिमा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई रु.१८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४६.० प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।

दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर रु.२२९ अर्ब ५० करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ ।

चालु खाता र शोधानान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा रु.२१ अर्ब ७९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.३५ अर्ब १६ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा रु.३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा रु.१९ करोड २५ लाख कायम भएकोछ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५ अर्ब ४५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोडबाट वृद्धि भई २०७६ भदौ मसान्तमा रु.१०७८ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ अर्ब ४४ करोड कायम भएकोछ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ भदौ मसान्तमा रु.९३२ अर्ब ६० करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ भदौ मसान्तमा रु.१४६ अर्ब ३३ करोड पुगेको छ । २०७६ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आई रु.१५३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई रु.१७६ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।