काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जा परिचालनतर्फ विगतकै त्रुटिपूर्ण अवस्थालाई निरन्तरता दिइरहेका छन् । उनीहरुले निक्षेप सामान्य अंकले मात्र बढाएका छन् भने कर्जा परिचालन भने निक्षेपभन्दा बढी आक्रामक देखिएका छन् । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ प्रतिशतले बढेको छ ।

२०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको छ (तालिका २) । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३४.२ प्रतिशत र ४५.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २० प्रतिशतले बढेको छ ।

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.३ प्रतिशत रहेको थियो ।