मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको अन्तर्वार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई’हत्यारा’ शब्द प्रयोग गरिएपछि रूस आक्रोशित भएको छ ।

फक्स न्युजले शनिबार प्रसारण गरेको अन्तर्वार्तामा पुटिनलाई’हत्यारा’ भनेर उल्लेख गरेको थियो । यसै विषयलाई लिएर रूसले सोमवार आक्रोश व्यक्त गर्दै फक्स न्युजले मागी माग्नुपर्ने अडान लिएको छ । रूसले आफ्नो देशका राष्ट्रपतिलाई कार्यक्रममा भनिएको शब्द अक्षम्य भएको स्पष्ट पारेको छ । यस्तो टिप्पणी रूसका लागि स्वीकार्य नहुने पनि उसको चेतावनी छ । 

फक्स न्युजका पत्रकार बिल ओ राइलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लिएको अन्तर्वार्तामा पुटिनलाई ‘अ किलर’ भनेर चिनाएका थिए। पत्रकार राइलीले त्यस्ता ‘हत्यारा’ पुटिनलाई ट्रम्पले किन सम्मान गर्छन् भनेर प्रश्न गरेका थिए । यद्यपि ती पत्रकारले पुटिनलाई’अ किलर’ भनेर किन भनेका थिए, त्यसको भने खुलासा गरेनन् ।

रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले भने,’फक्स न्युज च्यानलले प्रयोग गरेको शब्द अस्वीकार्य र अपमानजनक छ । इमानदारीपूर्वक भन्ने हो भने हामी फक्सले माफी मागोस् भन्ने चाहन्छौं ।’ पुटिनमाथि अपमानजनक शब्द प्रयोग भएपछि अमेरिकी सञ्चारमाध्यमले फक्स न्युज र सञ्चारकर्मी राइलीसँग यसको कारणबारे जानकारी लिन खोज्दा उनीहरू मौन रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने अन्तर्वार्तामा पुटिनको प्रशंसा नै गरेका थिए। राइलीले ट्रम्पसँगको अन्तर्वार्तामा’तपाईं भ्लादिमिर पुटिनको सम्मान गर्नुहुन्छ’ भनेर सोधेका थिए। त्यसको जवाफमा ट्रम्पले पक्कै पनि भनेका थिए । त्यसलगत्तै राइलीले’त्यस्ता हत्यारा पुटिनको किन सम्मान गर्नुहुन्छ’ भनेर प्रश्न गरेका थिए । त्यसको उत्तर दिँदै ट्रम्पले भने,’तपाईं (अमेरिका) मा थुप्रै हत्यारा छन्। के तपाईंले हाम्रो देश निर्दोष छ भन्ने ठान्नुहुन्छ ? ‘

यसको जवाफमा राइलीले कुनै पनि अमेरिकी नेता हत्यारा नभएको जवाफ दिएका थिए । यसलगत्तै ट्रम्पले इराक युद्धको प्रसंग उठाउँदै तत्कालीन नेता हत्यारा भएको बताएका थिए। ट्रम्पले भने,’हामीले के गरेका छौं, यसप्रति पनि ध्यान दिनु आवश्यक छ । हामीले पनि निकै गल्ती गरेका छौं। इराकमा कैयौं व्यक्ति मारिए । त्यस्ता हत्यारा हाम्रा देशमा पनि छन्।’ आफूले जहिले पनि इराक युद्धको विरोध गरेको स्पष्ट पारे ।

अमेरिकी जनताले भने रूसी राष्ट्रपतिका कामलाई समर्थन गर्नु गलत भएको बताएका छन् । सामाजिक सञ्जालमा अमेरिकी नागरिकले ट्रम्पको विरोध गरेका छन् । रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपतिसँग तुलना गर्न नमिल्ने उनीहरूको दाबी छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।