काठमाण्डौ । वित्तीय स्थायित्वमा आँच पुर्याएको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ आज आइतबारबाटै निलम्बनमा पर्ने सम्भावना देखिएको छ ।

उक्त आरोपको छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय आज साँझ बस्ने बैंकको सञ्चालक समितिको बैठकमा प्रस्तुत हुने र सोही बैंकले छानबिन समिति गठन गर्ने बैंक स्रोतले बतायो । छानबिन समिति गठनसँगै श्रेष्ठ स्वतः निलम्बनमा पर्नेछन् ।

करिब एक महिनाअघि अर्थमन्त्री डा युवराज खतिवडाले डेपुटी गर्भनर श्रेष्ठले वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरिरहेको भन्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए । त्यसको केही दिनपछि नै मन्त्रिपरिषद्ले श्रेष्ठमाथि छानबिन गर्ने निर्णय लिएको बैंक स्रोतले बतायो ।

सन् २०१६ मार्चदेखि डेपुटी गर्भनर रहेका श्रेष्ठमाथि लागेको आरोप प्रमाणित भएमा सरकारले उनलाई पदमुक्त गर्न सक्छ ।

श्रेष्ठले वाणिज्य बैंक, विकास बैंक, वित्त तथा लघुवित्त संस्था सुपरिवेक्षण विभाग हेर्दै आएका छन् । उनीमाथि वित्तीय स्थायित्वमा असर पर्ने गरी थुप्रै निर्णयहरु गरेको आरोप लाग्दै आएको छ ।