राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छिन् । 
 
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 
सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ । 
 
पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं  ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) रहेका छन् । उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।
 
निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो ।

 

तर, त्यसबेला प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को विरोधका कारण प्रदेश प्रमुखलाई पदमुक्त गर्ने प्रयास सफल हुन सकेको थिएन । 

सबै प्रदेश प्रमुख पदमुक्त भएसँगै सरकारले सातै प्रदेशमा नेकपा निकटका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने तयारी थालेको छ । संभवत सोमबार यो सम्बन्धमा क्याबिनेटले निर्णय लिने स्रोत बताउँछ । 

यसैबीच, प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको सबै प्रदेश प्रमुख हटाउने निर्णयलाई ‘राजनीतिक पूर्वाग्रह’ भनेको छ ।