काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई छानबिन गर्न मन्त्रिपरिषद्ले दिएको निर्देशनमा आज सोमबार पनि छलफल हुने भएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकमा अर्थसचिव राजन खनालले मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनात्मक पत्र प्रस्तुत गरे पनि निष्कर्ष निस्केन । यस विषयमा सोमबार छलफल गर्ने निर्णय भएको अर्थ स्रोतले बतायो । ‘आजको बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने सम्भावना छ’, स्रोतले भन्यो ।

करिब एक महिनाअघि अर्थमन्त्री डा युवराज खतिवडाले डेपुटी गर्भनर श्रेष्ठले वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरिरहेको भन्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए । त्यसको केही दिनपछि नै मन्त्रिपरिषद्ले श्रेष्ठमाथि छानबिन गर्ने निर्णय लिएको बैंक स्रोतले बतायो ।

सन् २०१६ मार्चदेखि डेपुटी गर्भनर रहेका श्रेष्ठमाथि लागेको आरोप प्रमाणित भएमा सरकारले उनलाई पदमुक्त गर्न सक्छ ।

श्रेष्ठले वाणिज्य बैंक, विकास बैंक, वित्त तथा लघुवित्त संस्था सुपरिवेक्षण विभाग हेर्दै आएका छन् । उनीमाथि वित्तीय स्थायित्वमा असर पर्ने गरी थुप्रै निर्णयहरु गरेको आरोप लाग्दै आएको छ ।