काठमाण्डौ । वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ सोमबारदेखि लागू हुने गरी निलम्बनमा परेका छन् ।

राष्ट्रबैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेसँग उनी निलम्बनमा परेका हुन् । राष्ट्र बैंकका सञ्चालक डा श्रीराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा सञ्चालक डा सुबोधुकमार कर्ण र रामजी रेग्मी सदस्य छन् ।

छानबिन समितिले एक महिनाभित्र श्रेष्ठमाथि लागेको आरोपका विषयमा अनुसन्धान गरी सञ्चालक समितिलाई प्रतिवेदन पेस गर्नुपर्ने डेड लाइन दिइएको छ । समितिले श्रेष्ठमाथि लागेका आरोप प्रमाणित भए स्पष्टीकरण सोध्नेछ ।

श्रेष्ठबाट चित्तबुझ्दो स्पष्टीकरण सरकारले उनलाई बर्खास्त गर्न सक्नेछ।

करिब एक महिनाअघि अर्थमन्त्री डा युवराज खतिवडाले डेपुटी गर्भनर श्रेष्ठले वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरिरहेको भन्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए । त्यसको केही दिनपछि नै मन्त्रिपरिषद्ले श्रेष्ठमाथि छानबिन गर्ने निर्णय लिएको बैंक स्रोतले बतायो ।

सन् २०१६ मार्चदेखि डेपुटी गर्भनर रहेका श्रेष्ठले वाणिज्य बैंक, विकास बैंक, वित्त तथा लघुवित्त संस्था सुपरिवेक्षण विभाग हेर्दै आएका थिए । उनीमाथि वित्तीय स्थायित्वमा असर पर्ने गरी थुप्रै निर्णयहरु गरेको आरोप लागेका छन् ।