काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३८० कित्ता संस्थापक सेयर लिलामीमा आउने भएको छ । 

बैंकले आगामी कात्तिक २१ गतेदेखि २८ गतेसम्म संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम ३ हजार कित्ताबाट खरीदका लागि गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । अधिकतम कित्ताका लागि कुनै सीमा तोकिएको छैन । 

बैंकले लिलामीबाट सेयर खरीद गर्न चाहनेका लागि प्रतिकित्ता रु. २७५ न्यूनतम मूल्य तोकिदिएको छ । २७५ रुपैयाँ भन्दा कम मूल्य राखेर दर्ता गरिएको दरखास्त अमान्य हुनेछ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ रहेको छ । 

लिलामीका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । प्रति फारम रु. ५०० तिरेर एनआइबिएल एस क्यापिटलको कार्यालयबाट खरीद गरी दरखास्त दिन सकिने बताइएको छ ।