काठमाण्डौ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । 

एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ ।

यो बचत खाताले खातावालाको श्रीमान/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँसम्मको औषधी उपचार बिमा र थप १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा सहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउनेछ । 

यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइनेछ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ । 

यो बचत खाताअन्तर्गत विभिन्न बिक्री केन्द्रहरूमा एनएमबि डिलाइड डेबिट र क्रेडिट कार्डबाट छुट प्राप्त गर्न सकिने र एनएमबि बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छुटसहितका अन्य लाभहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंक शाखाका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा ठूलो बैंक हो, यस प्रदेशमा बैंकका कुल ३९ शाखा छन् । एनएमबि बैंकका हाल देशभरि १६३ शाखा, १२८ एटीएमहरू र ५ एक्सटेन्सन काउन्टरहरू रहेका छन् । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।