काठमाण्डौ । सन् २०१८ मा विश्वका अर्बपतिहरुको कुल सम्पत्तिमा गिरावट आएको छ ।

विश्वस्तरमा पछिल्लो तीन वर्ष लगातार बढेको अर्बपतिहरुको सम्पत्ति गत वर्ष घटेको हो । ब्लुमबर्गको रिपोर्टअनुसार अर्बपतिहरुको कुल सम्पत्तिमा करिब ३८८ बिलियन डलरले कमी आएको छ ।

अर्बपतिहरुको सम्पत्तिमा सबैभन्दा बढी कमी एसिया महाद्वीपमा देखिएको छ । जहाँ चीन र अमेरिकाबीच जारी व्यापार युद्धको प्रभाव बढी देखिएको छ । त्यहीँ भारत र चीनमा जारी आर्थिक मन्दीले अर्बपतिहरुको सम्पत्तिमा गिरावटको कारणका रुपमा हेरिएको छ ।

एसियामा अर्बपतिहरुको सम्पत्तिमा करिब ८ प्रतिशतले गिरावट आएको छ ।

अमेरिकाका अर्बपतिहरुको सम्पत्ति विवरणमा पनि राम्रो प्रदर्शन देखिएको छ । विशेषगरी प्रविधिसँग जोडिएका अमेरिकीहरुको सम्पत्तिमा राम्रो प्रगति देखिएको छ ।

अमेरिकामा सन् २०१८ अन्त्यसम्म करिब ८९ अर्बपतिहरु प्रविधिसँग जोडिएका कारोबारी थिए । जुन गत वर्ष ७० जनामात्र थिए ।

सन् २००३ यता अर्बपतिहरुको सम्पत्तिका तेस्रोपटक गिरावट आएको हो । तथ्यांकअनुसार सन् २०१४ मा अर्बपतिहरुको कुल सम्पत्ति ६.२ ट्रिलियन डलर थियो । जुन सन् २०१५ मा घटेर ५.९ ट्रिलियन डलरमा सीमित थियो ।

सन् २०१६ मा पुनः यो तथ्यांक बढेर ७.२ ट्रिलियन डलरमा पुग्यो । अझ सन् २०१७ मा अर्बपतिहरुको कुल सम्पत्ति बढेर ८.९ ट्रिलियन डलर भयो । तर सन् २०१८ मा फेरि घटेर ८.५ ट्रिलियन डलरमा सीमित बन्न पुग्यो । – एजेन्सी