काठमाण्डौ । भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका उसका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल हुँदै आएको छ।

नेपाल राष्ट्र ब्याङ्कमा प्रतिबन्धित ५०० र १००० का पाँच करोड भारतीय रुपैयाँ रहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताएका छन्।
सर्वसाधारणले पनि आफूसँग रहेका त्यस्ता नोट साट्न पाइन्छ भन्ने आशा त्याग्न नसकेको बताउने गरेका छन्। तर पूर्व डेपुटी गभर्नर कृष्ण मानन्धरले भारतले आफ्ना प्रतिबन्धित नोट फिर्ता लिने सम्भावना अब शून्यमा पुगेको बताउँछन्। उनी भन्छन्: "भारतका लागि त्यो ठूलो रकम होइन। तर पनि नेपालले बारम्बार आग्रह गर्दा त्यसलाई हेरौँला, छलफल गरौँला भन्नुले फिर्ता लिन नचाहेको देखिन्छ।"

नेपाल र भुटानमा भारतीय नोट सजिलै प्रयोग गर्ने गरिन्छ। भुटानमा भएका आफ्ना नोट भारतले फिर्ता लिइसकेको छ। २०५१ सालअघि नेपालमा एक सय भारतीय रूपैयाँभन्दा ठूला भारु नचल्ने भएपनि अनौपचारिक रूपबाट यहाँ आएका पाँच सय रूपैयाँका झण्डै २८/२९ करोड भारू लगिदिएको थियो। तर यतिखेर नेपालमा औपचारिक रूपबाटै ल्याइएका पैसा भए पनि नेपालबाट ती नोट फिर्ता नलिनुले भारतीय नियत प्रष्ट हुने कतिपयको बुझाइ छ।

कोसँग छ बाँकी नोट?

नेपाल राष्ट्र ब्याङ्कसँग पाँच करोड भारतीय रुपैयाँ बराबरका नोटहरू रहेको छ। भारतमा हरेक वर्ष हजारौँ नेपालीहरू काम गर्न जान्छन्। नेपाली बजारमा भारतीय मुद्रा सहजै चल्ने हुनाले ती नेपालीहरूले आफूसँगै भारतीय मुद्रा बोकेर आएका हुन्छन्।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय त्यस्ता कामदारका घरका परिवारका सदस्यहरूले आवश्यक परेका बेलामा खर्च गर्ने भनेर राखेका हुनसक्ने बताउँछन्। कैयौँ नेपालीहरू उपचार, अध्ययन वा भ्रमणका लागि भारत पुग्छन्। उपचार वा भ्रमणका क्रममा बाँकी रहेको रकम घर फिर्ता ल्याएर थन्क्याउने गर्छन्।

त्यस्ता नेपालीहरूमध्ये कतिपयले विभिन्न पहुँचमार्फत् त कतिपयले नोटको मूल्यभन्दा सस्तोमा त्यतिबेलै प्रतिबन्धित नोट साटिसके। तर त्यस्तो प्रबन्ध मिलाउन नसकेका कैयौँसँग अझ पनि त्यस्ता नोट बाँकी छन्।

पूर्वराजदूत उपाध्यायले त्यसबेला दिल्लीमा रहेकाले कैयौँ नेताहरूका त्यस्ता पैसा साट्ने प्रबन्ध मिलाइदिएका थिए।

भारतको आनाकानी किन?

भारतले फिर्ता लगोस् भनेर बारम्बार नेपाली अधिकारीले गरेको आग्रह आलटाल गर्नुमा भारतभित्रै प्रणालीमा नफर्केको कालो धन तस्करमार्फत नेपाल आइपुग्ने र नेपालबाट त्यो रकम भारत पुग्ने त्रास भारतीयहरूमा रहेको बताइन्छ।

पूर्वअर्थमन्त्री समेत रहेका भारतीय नेता अरुण जेट्लीले बारम्बार त्यस्तो त्रास आफूसँगको कुराकानीमा व्यक्त गरेको पूर्व राजदूत उपाध्याय बताउँछन्।

उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्षले भारतमा नोट प्रतिबन्धित भएका बखत नेपालमा त्यस्तो रकम अरबौँ रहेको भन्ने अभिव्यक्ति दिएपछि भारत झस्केको जानकारहरूको भनाइ छ। पूर्व डेपुटी गभर्नर मानन्धर भन्छन्: "भारतको केन्द्रीय ब्याङ्कले प्रतिबन्धित नोट ९७ प्रतिशत फिर्ता भइसकेको एक रिपोर्टमा जनाएको छ।" 

"त्यसैले तीन प्रतिशतमा नेपालबाट आउने रकम निकै न्यून हो। त्यसैले पनि नेपालबाट जाने नोट त्यति समस्याकारी नमान्नुपर्ने हो।"

आर्थिक हिसाबले नेपालको अर्थतन्त्रलाई भारतीय नोटको कुरालै खासै समस्या नपर्ने जानकारहरू बताउँछन्। तर सर्वसाधारणले दु:ख गरि कमाएको रकम गुमाउनुपर्दा भने उनीहरू मर्कामा पर्नेछन्।

त्यससँगै नेपालमा भारतले गुमाउँदै गएको भनिएको साखमाथि झन धक्का लाग्न सक्छ।

त्यसैपनि पछिल्लो नाकाबन्दीयता चुलिएको भारतविरोधी मनोभावमा उस्तै प्रकृतिको नोट भुटानबाट लग्ने नेपालबाट नलग्ने गरेकाले भारतको मिचाहा प्रवृति उजागर भएको कतिपयको भनाइ छ।

पूर्वराजदूत उपाध्याय नेपालले भारतले उसका पैसा फिर्ता लगोस् भनेर प्रयत्न कायमै राख्नुपर्ने बताउँछन्। 

भारतीय अधिकारीहरूसँग बारम्बार कुराकानी गरेर पनि फिर्ता लग्न बाध्य बनाउनुपर्ने उनको तर्क छ। – बीबीसी नेपाली सेवा