काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोगिता बढाउन र आममानिसलाई शुलभ सेवा उपलब्ध गराउने उद्देश्यले जिभी हेल्थ प्रालिले आफ्नो नयाँ मोबाइल एप ‘जिभी’ औपचारिक रुपमा लन्च गरेको छ ।

यो एपले आममानिस, स्वास्थ्य संस्था र डाक्टरको हत्केलामै स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्नेछ । कम्पनीले यो एपले प्रयोगकर्ताको स्वास्थ्य सुधार्न र उनीहरुको स्वास्थ्यावस्था प्रविधिका माध्यमबाट व्यवस्थित गर्न सहगोग पुग्ने आशा लिएको छ ।

यो कम्पनी नेपालका ३५ जना जुझारु र उत्साहित युवाको जमातले गत साउन २७ गते स्थापना गरेका हुन्। कम्पनीको यो एपको प्रयोगकर्ताले मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टर र क्लिनिकसँग अप्वाइन्मेन्ट लिन सक्नेछन् र औषधि तथा अन्य स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरु अनलाइनमार्फत अडर गर्न सक्नेछन् ।

यो एपमार्फत आफ्नो मेडिकल रेकर्ड एकै ठाउँमा दर्ता गर्न सक्नुका साथै आवश्यक परेका बेला रगत उपलब्धताका लागि आग्रह वा रक्तदान पनि गर्न सकिनेछ ।

कम्पनीले स्वास्थ्य सेवासँग सरोकार राख्ने व्यक्ति र संस्थालाई निःशुल्क रुपमा आफ्नो एपका माध्यमबाट उनीहरुको अदक्षता हटाउने दाबी गरेको छ । यसका लागि क्लिनिकहरुले आफ्नो प्रशासनिक र डाक्टरहरुको समयतालिका मिलाउन सक्नेछन् । डाक्टरहरुले बिरामीको व्यक्तिगत स्वास्थ्य रेकर्ड र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सबै एकै ठाउँबाट पाउन सक्नेछन् । जसले गर्दा बिरामीको यथार्थ स्वास्थ्यावस्था थाहा पाउन, सही उपचार गर्न र बिरामीको समय, जीवन र पैसा बचत गर्न मद्दत गर्नेछ ।

हाल यो एपमा एक सयजना डाक्टर आबद्ध भइसकेका छन् ।

स्थापनाको दुई महिनामै जिभीको १ हजार युजर डाउनलोड पुग्नुका साथै ५ हजार उत्पादनहरु अनलाइनमा उपलब्ध भइसकेका छन् । जिभीले अहिले २५ प्रतिशतसम्म छुट र होम डेलिभरिको पनि व्यवस्था गरेको छ । तत्काललाई डेलिभरिको सुविधा काठमाण्डौ उपत्यकामा मात्रै उपलब्ध छ र भावी दिनहरुमा यसका विशेषता, सेवा र शाखाहरु विस्तार गर्ने योजनामा कम्पनी रहेको छ ।

यो एप गुगल प्लेस्टोर र आईओएस प्रगोगकर्ताले www. jeevee.com मा गएर डाउनलोड गर्न सक्नेछन् ।