काठमाण्डौ । सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनलाई भाडा लिएर यात्रु बोके कारबाही गर्ने चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना गरी त्यस्तो गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । यो सूचनासँगै निकै प्रचलनमा रहेको टुटल, पठाओलगायतका सेवाको भविष्य अन्योलमा पर्ने भएको छ । यी दुवै अनलाइन सेवाप्रदायक संस्थामा आबद्ध हजारौँ निजी मोटरसाइकल वाहकले भाडा यात्रुलाई गन्तव्यमा पुर्याउँदै आएका छन् ।

सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको उल्लेख छ ।

टुटल र पठाओलगायतका सेवा भरपर्दो नभएको, बीमा र दुर्घटना जोखिम व्यवस्थापन पनि नगरिएको, यात्रु पनि असुरक्षा हुने गरेको गुनासोहरु यातायात व्यवसायीहरुबाटै आउन थालेपछि विभागले दोस्रोपटक निजी सवारीसाधनमा भाडा लिएर यात्रु ओसार्न रोक लगाउने चेतावनी दिएको हो ।

यसअघि पनि विभागले यस्तै सूचना प्रकाशित गरी निजी सवारीसाधनलाई भाडा लिएर यात्रु ओसार्न रोक लगाएको थियो । त्यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको यसखाले कामको प्रोत्साहन गर्नुपर्ने भन्दै कारबाही रोक्न निर्देशन दिएका थिए ।

स्रोतका अनुसार यातायात व्यवसायीहरु निजी सवारीसाधनले भाडा लिएर यात्रु ओसार्दा विकृति फैलिनुका साथै आफूहरुको रोजीरोटीमा धक्का पुगेको गुनासो गर्न थालेपछि विभागले यो फेरि कदम उठाएको हो ।

विभागका अधिकारीहरुले भने कानुनअनुसार नै निजी सवारीसाधनमा भाडा लिएर यात्रु ओसार्न रोक लगाउने निर्णय गरेको बताएका छन् । उनीहरुले यदि कोही कानुन मिचेर अगाडि बढ्न खोजे सोहीअनुसार कारबाही हुने चेतावनी पनि दिएका छन् ।

उता विभागको सूचना प्रकाशितप्रति टुटल र पठाओबाट कुनै किसिमको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।